मन्थलीमा स्थानीय उत्पादनको बजारीकरण

रामेछाप । रामेछापको सदरमुकाम मन्थलीमा स्थानीय कृषक र लघु उद्यमीका उत्पादनले बजार पाएकाछन् । खेतबारीमा पसिना बगाएर उब्जाइएका तरकारी, फलफूलदेखि सीप र मेहनतबाट तयार गरिएका लघु उद्यमका सामग्रीलाई उपभोक्तासम्म प्रत्यक्ष पु¥याउने उद्देश्यसहित मन्थली नगरपालिकाले नगरस्तरीय कृषि तथा लघु उद्यम प्रदर्शनी मेला सुरु गरेको हो । मन्थली–१ स्थित हाटे चौरमा शनिबारदेखि सुरु भएको मेला आइतबारसम्म सञ्चालन हुँदैछ ।
ग्रामीण कृषि अर्थतन्त्रको मेरुदण्ड मानिने साना कृषक र उद्यमीका लागि बजार नै सबैभन्दा ठूलो चुनौती बन्दै आएको सन्दर्भमा यो मेला उनीहरूका लागि अवसरको ढोका बनेको छ । स्थानीय उत्पादनलाई स्थानीय बजारमै चिनाउने, उत्पादक र उपभोक्ताबीचको दूरी घटाउने र कृषकको आत्मविश्वास बढाउने उद्देश्य मेलाको मूल आत्मा हो ।
मेलाको उद्घाटन बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसूदन पौडेलले गरे । उद्घाटन समारोहमा उनले यस्ता प्रदर्शनी मेलाहरू कृषक तथा उद्यमीका लागि अत्यन्त उपयोगी रहेको उल्लेख गरे । “एकै थलोमा उत्पादन, सीप र समस्या प्रस्तुत गर्न पाउनु कृषकका लागि ठूलो अवसर हो,” मन्त्री पौडेलले भने, “स्थानीय तहले कृषक र लघु उद्यमीलाई लक्षित गरेर यस्ता कार्यक्रम गर्नु सकारात्मक र उदाहरणीय अभ्यास हो ।” उनका अनुसार उत्पादन बढाउनु मात्र पर्याप्त छैन, त्यसलाई बजारसँग जोड्न सके मात्र कृषकको जीवनस्तरमा वास्तविक परिवर्तन आउँछ ।
स्थानीय कृषि उत्पादनलाई बजारसँग जोड्ने लक्ष्यका साथ आयोजना गरिएको यस मेलाबाट कृषकले नयाँ बजार, नयाँ प्रविधि र नयाँ सम्भावनाको ढोका खोल्ने अवसर पाउने वागमती प्रदेशसभा उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति आनन्द श्रेष्ठको विश्वास छ । “कृषिको बजारीकरण, व्यावसायिकीकरण र यान्त्रिकीकरणलाई गति दिन यस्ता मेला प्रभावकारी माध्यम बन्दै गएका छन्,” उनले भने ।
मन्थली नगरपालिकाले आर्थिक आधार विस्तार, कृषि पर्यटन प्रवद्र्धन र स्थानीयस्तरमै स्वरोजगार सिर्जना गर्ने लक्ष्यसहित गत वर्षदेखि यो मेला सुरु गरेको नगर प्रमुख लव श्रेष्ठले बताए । “नगरभित्र उत्पादित कृषि, पशुपन्छी तथा लघु उद्यमका सामग्रीलाई प्रवद्र्धन गर्दै उपभोक्तासँग प्रत्यक्ष जोड्ने काम मेलाले गरिरहेको छ,” नगर प्रमुख श्रेष्ठले भने । यसले कृषकलाई उत्पादन बढाउन मात्र होइन, गुणस्तर सुधार र बजारको माग बुझ्न पनि प्रेरित गरेको उनको भनाइ छ ।
मेलामा मन्थली नगरपालिका–१३ का वडा अध्यक्ष तथा आर्थिक विकास समितिका संयोजक नवराज थापामगरको संयोजनमा ५२ वटा स्टल राखिएका छन् । तरकारी, फलफूल, नर्सरी, विभिन्न कृषि बाली, पशुपन्छी तथा लघु उद्यमसम्बन्धी सामग्रीले मेलास्थल भरिएको छ । सहभागी कृषक र उद्यमीलाई निःशुल्क स्टल, आवास र भोजनको व्यवस्था गरिएको छ भने सामग्री ढुवानीमा समेत सहुलियत दिइएको छ । यसले साना कृषक र उद्यमीलाई बिना आर्थिक बोझ मेला सहभागी हुन सहज बनाएको छ ।
मेलालाई अझ प्रतिस्पर्धात्मक र प्रोत्साहनमूलक बनाउन १० विधामा उत्कृष्ट कृषक तथा उद्यमीलाई जनही ६ हजार ७ सय रुपैयाँका दरले पुरस्कृत गरिने नगरपालिकाले जनाएको छ । गत वर्ष करिब ७ हजार दर्शकले मेला अवलोकन गरेका थिए र झण्डै १० लाख रुपैयाँ बराबरको स्थानीय उत्पादन बिक्री भएको तथ्यांक छ । यस वर्ष १० हजारभन्दा बढी दर्शकले मेला अवलोकन गर्ने र बिक्री परिमाण पनि उल्लेख्य रूपमा बढ्ने अपेक्षा गरिएको छ ।
स्थानीय उत्पादनले बजार पाउँदा मात्र कृषकको मेहनतले मूल्य पाउँछ । मन्थलीमा सुरु भएको यो कृषि तथा लघु उद्यम प्रदर्शनी मेला केवल किनबेचको थलो मात्र होइन, ग्रामीण आत्मनिर्भरता, सीप र सम्भावनाको उत्सव बनेको छ । स्थानीय उत्पादनलाई आम्दानीसँग जोड्ने यो प्रयास मन्थलीका लागि मात्र होइन, समग्र ग्रामीण कृषि अर्थतन्त्रका लागि पनि आशाको केन्द्र बन्दै गएको छ ।



