एकता दिवसका अवसरमासेनाको पदयात्रा

रामेछाप ।३०४ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा नेपाली सेनाले रामेछापमा पदयात्रा आयोजना गरी एकता र राष्ट्रनिर्माणको सन्देश प्रवाह गरेको छ । नेपाली सेनाको खड्गदल गण रामेछापको आयोजनामा आइतबार जिल्लाकै ऐतिहासिक किल्ला तिल्केस्थान गढीसम्म पदयात्रा निकालिएको हो ।
रामेछापको भंगेरीस्थित झगरेचौरबाट सुरु भएको पदयात्रा डुकुरसिं डाँडाँ हुँदै तिल्केस्थान गढीमा पुगेर समापन भएको थियो । सैनिक ब्याण्ड र बाजागाजासहित निकालिएको पदयात्रामा नेपाली सेनाका जवान, स्थानीय जनप्रतिनिधि, सरकारी कर्मचारी, उद्योगी–व्यापारी, समाजसेवी तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो । ऐतिहासिक मार्ग हुँदै गरिएको पदयात्राले राष्ट्रिय एकता दिवसलाई स्थानीय स्तरमै जीवन्त बनाएको सहभागीहरूको भनाइ छ ।
तिल्केस्थान गढी परिसरमा आयोजित विशेष कार्यक्रममा राष्ट्रनिर्माता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको तस्बिरमा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गरिएको थियो । कार्यक्रममा रामेछाप नगरपालिकाका प्रमुख लवश्री न्यौपाने, खाँडादेवी गाउँपालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठ, सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर केसी, नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष दीपकप्रसाद घिमिरेलगायत वक्ताले पृथ्वीनारायण शाहको कृतित्व, योगदान र राष्ट्रिय एकताका आधारबारे चर्चा गरेका थिए । उनीहरूले पृथ्वीनारायण शाहकै रणनैतिक सोचअनुसार निर्माण भएको तिल्केस्थान गढीको ऐतिहासिक महत्वसमेत औँल्याए ।
कार्यक्रममा खड्गदल गण रामेछापका गणपति प्रमोद पौडेलले पृथ्वीनारायण शाहको व्यक्तित्व र राष्ट्रनिर्माणमा रहेको योगदानबारे प्रकाश पारे । उनले अंग्रेजसँगको युद्धका क्रममा सिन्धुलीगढी केन्द्रित रणनैतिक संरचना मजबुत बनाउन त्यस आसपास सहायक गढीहरूको निर्माण गरिएको ऐतिहासिक पृष्ठभूमि उल्लेख गर्दै तिल्केस्थान गढी पनि त्यसैको महत्वपूर्ण कडी भएको बताए ।
लामो समयदेखि उपेक्षित अवस्थामा रहेको तिल्केस्थान गढी परिसरमा केही समयअघि नेपाली सेनाकै पहलमा कालिमन्दिर निर्माण गरिएको थियो ।



