Trending
मन्थलीमा बोलेरोले किच्दा १४ महिनाका बालकको ज्यान गयो

रामेछाप — मन्थली नगर क्षेत्रमा शनिबार बिहान बोलेरो गाडीको ठक्करबाट एक बालकको मृत्यु भएको छ। आफ्नै घर अगाडि खेलिरहेका १४ महिनाका बालकलाई बोलेरोले किच्दा गम्भीर घाइते भएका थिए।
प्रहरीका अनुसार मन्थली बजारबाट आकाशेतर्फ जाँदै गरेको बागमती प्रदेश ०२–८ च १२७२ नम्बरको बोलेरोले मन्थली अस्पताल नजिकै बालकलाई ठक्कर दिएको हो। दुर्घटनापछि बालकलाई तत्काल मन्थली अस्पताल लगिएको थियो।
अस्पतालले प्रारम्भिक उपचारपछि थप उपचारका लागि काठमाडौँ पठाउन सिफारिस गरे पनि रेफर गर्ने तयारीकै क्रममा शनिबार बिहान करिब ११ः१५ बजे बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता प्रहरी निरीक्षक राजनप्रसाद तिम्सिनाले उपचारका क्रममा बालकको मृत्यु भएको पुष्टि गर्दै घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जानकारी दिए।



