रामेछाप त्रिवेणी बस दुर्घटना अपडेट : ३ जना बेपत्ता भएको आधिकारिक जानकारी

रामेछाप — काठमाडौँबाट मन्थली हुँदै ओखलढुंगाको पोकलीतर्फ जाँदै गरेको प्रदेश ०३–०१–००५ ख ९९७५ नम्बरको यात्रुवाहक बस मंगलबार रामेछापको मन्थली नगरपालिका–६ स्थित त्रिवेणी मन्दिर नजिकै सडकबाट करिब ६० मिटर तल तामाकोशी नदीमा खस्दा ठूलो मानवीय क्षति भएको थियो। दुर्घटनामा १२ जनाको मृत्यु भएको थियो भने ८ जना घाइते भएका थिए।
दुर्घटनापछि ३ जना बेपत्ता भएको भन्दै जिल्ला प्रहरी कार्यालय रामेछापमा आफन्तहरूले निवेदन दिएका छन्। जिल्ला प्रहरी कार्यालय रामेछापका सुचना अधिकारी प्रहरी निरीक्षक राजन तिमल्सिनाका अनुसार बेपत्ता व्यक्तिहरूको खोजीकार्य तीव्र पारिएको छ तर बुधबार साँझसम्म खोजीकार्य गर्दा केही फेला पर्न सकेका छैनन् ।
प्रहरीमा प्राप्त निवेदन अनुसार बेपत्ता हुनेमा उमाकुण्ड गाउँपालिका–६, गुप्तेश्वरका २४ वर्षीय विशाल सुनुवार रहेका छन्। उनका दाइ युवराज सुवालले खोजतलासका लागि निवेदन दिएका हुन्।
यस्तै, लिखु तामाकोशी गाउँपालिका–७, तिल्पुङकी ८ वर्षीया रेमिसा तामाङ पनि बेपत्ता रहेकी छन्। उनी मृतक रेमिता तामाङकी छोरी रहेको उल्लेख छ। रेमिसाको खोजीका लागि उनका आफन्तले प्रहरीमा निवेदन दर्ता गराएका छन्।
त्यसैगरी मन्थली नगरपालिका–२ का ९ वर्षीय क्रिचन तामाङ पनि सम्पर्क विहीन रहेको जनाइएको छ। उनका आफन्तले समेत खोजीका लागि निवेदन दिएका छन्।
दुर्घटनालगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयवासीको सक्रियतामा उद्धार तथा खोजीकार्य सञ्चालन गरिएको थियो।
घाइतेहरूको मन्थली र काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। बस दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुमानअनुसार तीव्र गतिका कारण दुर्घटना हुनसक्ने आशंका गरिएको छ, तर आधिकारिक निष्कर्ष आउन बाँकी छ।
दुर्घटनाले रामेछाप र आसपासका क्षेत्रमा शोकको वातावरण छाएको छ। स्थानीयवासीले जोखिमपूर्ण सडक खण्डमा बारम्बार दुर्घटना हुने गरेको उल्लेख गर्दै दीर्घकालीन सुरक्षात्मक उपाय अपनाउन माग गरेका छन्।



