Trending

रामेछापमा पुर्व अरनिको बस सेवा स्थगित, सामाजिक संजालमा चर्को आलोचना

रामेछाप — पुर्व अरनिको यातायात सेवा प्रा.लि. ले काठमाडौं–खुर्कोट हुँदै रामेछापको मन्थली सञ्चालन हुँदै आएका आफ्ना सम्पूर्ण ‘क्यू’ बस सेवा अर्को सूचना नआएसम्मका लागि स्थगित गरेको छ।
कम्पनीले शुक्रबार सूचना जारी गर्दै मन्थली नगरपालिका–६ त्रिवेणि क्षेत्रमा देखिएको सुरक्षा जोखिम र हालै भएको बस दुर्घटनालाई आधार बनाउँदै सेवा रोकेको जनाएको हो। सूचनामा यात्रुको सुरक्षालाई ध्यानमा राख्दै काठमाडौंबाट उक्त रुटमा सञ्चालन हुने ‘क्यू’ बसहरू अनिश्चितकालका लागि स्थगित गरिएको उल्लेख छ।
गत मंगलबार मन्थली–६ त्रिवेणि नजिकै भएको बस दुर्घटनामा १२ जनाको मृत्यु भएको थियो भने ८ जना घाइते भएका थिए भने ३ जना अझै बेपत्ता रहेको जनाइएको छ। दुर्घटनापछि पीडित परिवारसँग छलफल नगरी सेवा स्थगित गरिएको भन्दै सामाजिक सञ्जालमा कम्पनीको निर्णयप्रति आलोचना भइरहेको छ।
उक्त मार्ग काठमाडौं उपत्यका र रामेछाप जोड्ने प्रमुख यातायात सञ्जालमध्ये एक हो। दैनिक ठूलो संख्यामा यात्रु आवतजावत गर्ने यस रुटमा सेवा बन्द हुँदा यात्रु, व्यवसायी तथा स्थानीय बासिन्दा प्रभावित भएका छन्। वैकल्पिक यातायात व्यवस्थापन चुनौतीपूर्ण बन्न सक्ने आकलन गरिएको छ।
कम्पनीले भने सम्बन्धित निकायसँग समन्वय, सडक अवस्थाको मूल्यांकन तथा जोखिम न्यूनीकरणका उपाय सुनिश्चित भएपछि मात्रै सेवा पुनः सञ्चालनबारे निर्णय गरिने जनाएको छ।
यसैबीच, शोकमा डुबेको भन्दै लिखुतामाकोसी गाउँपालिकाले माघ ४ गते सोमबार सार्वजनिक बिदा दिएको छ। दुर्घटनाको कारण, सडक अवस्थाबारेको विस्तृत विवरण र राहत व्यवस्थापनबारे आधिकारिक निकायबाट थप जानकारी आउन बाँकी छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button