Trending
खुर्कोटमा भेटियो बस दुर्घटनामा बेपत्ता ९ वर्षीय बालकको शव

रामेछाप — बस दुर्घटनामा बेपत्ता रहेका मन्थली नगरपालिका–२ का ९ वर्षीय क्रिचन तामाङको शव सुनकोसी नदी किनारस्थित खुर्कोट पक्की पुल नजिक फेला परेको छ। प्रहरीले खोजी कार्यका क्रममा शव भेटिएको जनाएको छ।
खुर्कोट प्रहरीको क्षेत्र पर्ने भएकाले मुजुल्का प्रक्रियाका लागि परिवारलाई खुर्कोट पठाइएको र पोस्टमार्टमपछि शव परिवारलाई जिम्मा लगाइने प्रहरीले जानकारी दिएको छ।
गत मंगलबार काठमाडौँबाट मन्थली हुँदै ओखलढुंगाको पोकलीतर्फ जाँदै गरेको प्रदेश ०३–०१–००५ ख ९९७५ नम्बरको अरनिको यातायातको यात्रुवाहक बस रामेछापको मन्थली नगरपालिका–६ स्थित भलुवाजोरको त्रिवेणी नजिक भिरबाट तामाकोसी नदीमा खस्दा १२ जनाको मृत्यु भएको थियो भने चालकसहित ८ जना घाइते भएका थिए। दुर्घटनामा तीन जना बेपत्ता रहेकामा एक जनाको शव फेला परेको छ भने अझै दुई जना बेपत्ता छन्।



