नेपाली राजनीतिमा अपडेटको कमी भयो : सांसद भण्डारी

रामेछाप । कांग्रेस केन्द्रीय सदस्य तथा संघीय सांसद डा। चन्द्र भण्डारीले समय अनुसार अपडेट हुन नसकेका कारण नेपाली राजनीतिमा समस्या देखिएको बताएका छन् ।
नयाँ बर्षको अवसर पारेर आईतबार काठमाडौंमा नेपाली काँग्रेस प्रदेश सभा क क्षेत्रिय कार्य समिति रामेछापले आयोजना गरेको चियापान तथा शुभकामना कार्यक्रममा भण्डारीले यस्तो बताएका हुन् ।
उनले भने, ‘अहिले प्रविधिको युग हो । तपाईं हामीले चलाउने मोवाईलले अपडेट माग्छ हामी वेलावेलामा अपडेट गर्छौं अनि मोवाईलले काम गर्छ । नेपाली राजनीतिको अहिले देखिएको समस्या भनेको नेतृत्वलाई समय अनुसार अपडेट भएन ।’
कार्यक्रममा भण्डारीले हरेक पार्टीलाई सफल वनाउन गरिवका छोराछोरी चाहिने तर सत्ता र शक्तिमा पुगेपछि सवै अवसर आफ्नै परिवारमा सिमित राखेको बताए । उनले भने, ‘वर्तमान राजनीति अवस्था भनेको अन्दोलन गर्न, दुख कष्ट गर्न, संकटमा नेता र पार्टीलाई सफल वनाउन हामी गरिवका छोराछोरी चाहिने अनि सत्ता र शक्तिमा पुगेपछि सवै अवसरका लागि परिवार मात्रै चाहिने र’
कार्यक्रममा रामेछाप जिल्ला सभापति एवम् प्रतिनिधि सभा सदस्य पूर्णबहादुर तामाङ (कान्छाराम), पूर्व सभापति रामचन्द्र खड्का, काठमाडौं क्षेत्र नं. १ का सभापति प्रलाद कार्की आ आफ्ना भनाईहरु राखेका थिए । रामेछाप जिल्लाका नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति रहेको कार्यक्रममा क्यालेण्डर विमोचन समेत गरिएको थियो । कार्यक्रम प्रदेश सभा क का क्षेत्रिय सभापति निरोज खड्काको सभापतित्वमा सम्पन्न भएको थियो ।



