धुमधामका साथ मनाइयो लदिपुजा

रामेछाप । कोसीपूजा अर्थात लदिपूजा नेपालमा बसोबास गर्ने समस्त माझीजातिको प्रमुख चाड हो । कोसीपूजा भन्नाले खोला, नदी अथवा पानीलाई गरिने पूजालाई जनाउँदछ । यो पर्व प्रत्येक वर्ष फाल्गुण महिनाको तेस्रो मङ्गलबार मनाउने गरिन्छ । यो पर्वको दिन सबै मानिसहरूले नुहाउने, घर लिप–पोत गरी सफा राख्ने गरिन्छ । त्यसपछि आ–आफनो घरबाट नजिकैको खोलामा सबै मानिसहरू भेलाभई समुहमा यो पर्व मनाउने गरिन्छ । यो दिनमानदिलाई विशेष रूपले पूजा गरिन्छ।
पूजामा विशेष बिधिबाट तयार गरिएको थानमा सुँगुर, कुखुरा, हाँस र परेवा गरि पाँचप्रकार जीवको बलि चढाउने गरिन्छ; जसलाई पञ्चबलि पनि भनिन्छ । यो पञ्चबलिको साथ थानमाफुल–अक्षता र भेटी पनि चढाउने गरिन्छ । यो दिनमा आफ्ना आफन्तहरूबिच शुभकामना आदानप्रदान पनि गर्ने गरिन्छ । साथै यो दिन नाचेर, गाएर रमाइलो गर्ने गरिन्छ ।
माझीजातिहरू परापूर्वक कालदेखि नेै खोलाको किनारमा बसि माछा मार्ने, डुङ्गा(नाउ)मा राखि मानिसहरूलाई खोला तारिदिने कार्य गर्दथे । उनिहरू सँधै खोलाको नजिकहुने, खोलामै बस्ने, खोलामा नै आश्रीत हुने भएकाले खोलालाई र पानीलाई भगवानमान्दथे र पूजाआजा गर्दथे । त्यसकारण आज पनि माझीजातिहरूले त्यो परम्परालाई मनाउदै आएका छन् । माझीजातिहरूको उल्लेख्य बसोबास भएको क्षेत्रकानजिक रहेका खोलाहरु जस्तैः–सप्तकोसी, दुधकोसी, तामाकोसी, अरुण, तमोर, कन्काई आदि जस्ता नदि–किनारमा यो पर्व मनाउने गरिन्छ । यो कोसी–पूजालाई लदिपूजा,पानी पूजा पनि भन्ने गरिन्छ । यसरि नदिपूजा गर्नाले बालीनाली राम्रो हुने, समयमा पानी पर्ने, घरपरिवारमा सुखशान्ति छाउने कुरा मा माझी जातिको विश्वास रहिआएको छ ।
माझी समुदायको विशेष पर्व लदीपूजा धुमधामका साथ यसपाली पनि मनाईएको छ । प्रत्येकवर्षको फागुन महिनाको साहिली मङ्गलबार मनाउने लदी (कोशी) पूजाको पहिलो दिनमङ्गलबार जिल्लाको विभिन्न स्थानमा बसोबास रहेको माझी समुदायले मनाएका छन् । रामेछापको मन्थली नगरपालिका वडा नं ८ गाइखुराका माझी समुदायहरुले तामाकोशीको किनारमा छिनारी (मसान), मंगलादेवी र जलदेवीकानाममा पाठी, कुखुरा लगायतका वली चढाएर पुजामनाएका छन् ।
करिब ५२ घरधुरीको सङ्ख्यामा रहेका गाइखुराका माझी समुदायहरुले पराम्परागत रुपमा चलिआएको यस पर्वलाई निकै महत्वका साथ मनाए । लदीपूजागर्नाले माझी समुदायको मुख्य पेशाको रुपमा परिचितपुख्र्यौली पेशानदीमा डुङ्गा (नाउ) चलाउँदा र माछा मार्दा कुनै पनि जोखिम आउँदैन भन्ने उनीहरुको विश्वास छ । साथै, नदीमापौडी खेल्दा बगाउँदैन भन्ने मान्यता समेत रहेको छ । वर्षातको समयमानदीले वर्षौनीविभिन्न ठाउँमा मानवीय, भौतिक र आर्थिक क्षति पु¥याइरहेको छ ।
त्यस्ता किसिमका कुनै पनि मानवीय, भौतिक र आर्थिक क्षतिनपु¥यावस् भनेर नदीको पूजा गरिँदै आएको गाइखुराका माझी समुदायका पूजारी सेते माझीले बताए । माझीभाषामा ‘छिनारी’ को अर्थ मसान र ‘लदी’ को अर्थ कोशी हुन्छ । मौलिक पोशाक गुनिउ चोली र दौरा सुरुवालमा सजिएर आएकामाझी समुदायले मुन (जाँड) खाएर नाचगान समेत गरेका थिए ।
‘परापुर्वकालमा माझीले राजालाई डुङ्गा तार्ने क्रममा कोशीको बीचमा डुङ्गा अड्किएपछि राजा डुब्ने डरले आत्तिँदै बल पुकारा माग्दा लदी पूजा गर्नु र त्यसको प्रसाद कसैलाई नदिई आफैँले मात्र खानु भनी माझीलाई भनेपछि माझीले सो अनुसार गरी डुङ्गा पार लगाएको किम्बदन्ती छ’, स्थानीय बालकृष्ण माझीले भने, ‘त्यही भएर यो पूजामा नदीमा डुङ्गा, त्यसको बहना, माछा मार्ने जाल, घोल्याङ, माछा हाल्ने पेरुङ्गो, एकै ठाउँमा राखेर देवता स्थापना गरी कोशी किनारमा परेवा, हाँस, कुखुरा र पाठीको बलि दिई पूजाआजा गर्ने चलन छ ।’
कोशी र माझीबीच मामा भान्जाको नाता रहेको पनि बताइन्छ । मामाले भान्जालाई जुनसुकै काममा पनि सहयोग गरून् भनेर पनि यो पूजा गरिएको माझी समुदायका बुढापाकाहरू बताउँछन् । यस पर्वका अवसरमा मन्थली नगरपालिकाले माझी समुदायको बस्ती रहेको वडा नं १,२,६,७, र ८ नं वडामा आज सार्वजनिक बिदा दिएको थियो ।
माझी समुदायको लदीपूजा बुधबार बाधा फुकाएसँगै विधिवत् रुपमाअन्त्य हुन्छ । नेपालको संघीय संरचनाअनुसार ७७जिल्लामध्ये ६८ जिल्लामामाझी समुदायको बसोबास रहेको छ । ६८ जिल्लामध्ये रामेछाप जिल्लामा माझी समुदायको ठूलो संख्यामा बसोबास रहेको छ । राष्ट्रिय जनगणना २०६८ को तथ्यांकअनुसार देसभरिमा माझीजातिको जनसंख्या ८३ हजार ७ सय २७ रहेको छ । रामेछापमा मात्र माझीको जनसंख्या ६ हजार ४२ रहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button