Trending

दोरम्बा शैलुङमा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर, २ सय नागरिक लाभान्वित

रामेछाप, चैत २२ — दुर्गम बस्तीका नागरिकलाई गाउँमै सहज स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले वाग्मती प्रदेश स्वास्थ्य मन्त्रालयअन्तर्गतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापले दोरम्बा शैलुङ गाउँपालिकामा एकदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ।
शनिबार सञ्चालन गरिएको शिविरमा गाउँपालिकाका विभिन्न वडाका करिब २ सय जनाले सेवा लिएको चिकित्सालयका प्रमुख दीपक कार्कीले जानकारी दिए। उनका अनुसार शिविरमा बिरामीहरूको स्वास्थ्य परीक्षण, आवश्यक परामर्श तथा निःशुल्क औषधि वितरण गरिएको थियो।
शिविरमा वितरण गरिएका औषधि वाग्मती प्रदेश स्वास्थ्य मन्त्रालय तथा विभिन्न औषधि कम्पनीहरूले उपलब्ध गराएका थिए। ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच अझै चुनौतीपूर्ण रहेकाले यस्ता शिविरले स्थानीय नागरिकलाई राहत पुगेको कार्कीले बताए।
चिकित्सालयकी डाक्टर सविता भण्डारीका अनुसार शिविरमा हाडजोर्नी दुख्ने, पुरानो खोकी, छाला रोग, शरीर पोल्ने तथा झमझमाउने, युरिक एसिड, पायल्स, टाउको दुख्ने, नाक टालिने तथा महिलासम्बन्धी विभिन्न स्वास्थ्य समस्या भएका बिरामी उपचारका लागि आएका थिए।
उनले ग्रामीण भेगमा दीर्घरोगीहरू नियमित उपचारबाट वञ्चित हुने गरेको उल्लेख गर्दै शिविरमार्फत त्यस्ता बिरामीलाई प्रारम्भिक उपचार तथा आवश्यक स्वास्थ्य परामर्श प्रदान गरिएको बताइन्।
चिकित्सालयले जिल्लाका विभिन्न स्थानीय तहमा यस्ता शिविर सञ्चालन गर्दै आएको जनाएको छ। साथै वृद्धवृद्धा, अशक्त तथा दुर्गम बस्तीका नागरिकलाई लक्षित गरी नियमित घरदैलो सेवा पनि सञ्चालन भइरहेको छ।
स्थानीय तहमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने सरकारी प्रयासअन्तर्गत सञ्चालन गरिएका यस्ता कार्यक्रमले नागरिकमा स्वास्थ्य सचेतना बढाउनुका साथै उपचार सेवामा सहज पहुँच सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button