रामेछाप ट्राफिकको सूचना: जरिवाना नतिरेका चालकलाई ७ दिनभित्र कागजात फिर्ता लैजान आग्रह

रामेछाप । जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले सवारी नियम उल्लङ्घनका क्रममा नियन्त्रणमा लिइएका कागजात फिर्ता लैजान सम्बन्धी महत्वपूर्ण सूचना जारी गरेको छ। कार्यालयका अनुसार विभिन्न मिति तथा समयमा सवारी चेकजाँचका क्रममा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६४ को उपदफा (२) बमोजिम २४ घण्टे पुर्जी दिइएको भए पनि तोकिएको समयमा जरिवाना रकम दाखिला नगर्ने सवारी चालकहरूलाई लक्षित गर्दै यो सूचना प्रकाशित गरिएको हो।
सूचनामा भनिएको छ कि सम्बन्धित चालकहरूले ७ दिनभित्र जरिवाना रकम बुझाई कार्यालय तथा मातहतका कार्यालयहरूमा रहेका आफ्नो सवारी चालक अनुमतिपत्र, सवारी दर्ता किताब र सवारी इजाजत पत्र लगायतका कागजात फिर्ता लिन सक्नेछन्।
यदि सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र कागजात फिर्ता नलिएको खण्डमा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६४ को उपदफा (५) बमोजिम आवश्यक कारबाही प्रक्रिया अघि बढाइने कार्यालयले जनाएको छ।



