‘एनएफ्पिजे’ रामेछापले जिल्लाको पर्यटन प्रवर्द्धन गर्न गर्‍यो फोटो पर्दशनी

२ चैत, रामेछाप । रामेछापको पर्यटन प्रवर्द्धन गर्न टेवा पुर्‍याउने उद्देश्यले राष्ट्रिय फोटो पत्रकार समूह, नेपाल जिल्ला शाखा रामेछापले फोटो पर्दशनी गरेको छ । उक्त समूहले रामेछाप जिल्लाको इतिहासमै पहिलो पटक यसरी फोटो पर्दशनी गरेको दाबी गरेको छ ।

शनिवार मन्थली स्थित तीनलाल पार्कमा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बागमती प्रदेशको तेस्रो प्रादेशिक महाधिवेशन अर्थात् बागमती प्रदेशका १३ वटै जिल्लाका पत्रकारहरू मन्थलीमा भेला भएको अवसर पारेर जिल्लाको धार्मिक, ऐतिहासिक, पुरातात्त्विक र पर्यटकीय हिसाबले ‘प्रचुर सम्भावना’ बोकेका ५० वटा स्थलहरूका फोटोहरू पर्दशनीमा राखेको जिल्ला अध्यक्ष मिलन बि क (घिमिरे) ले बताए । ‘सम्भवतः यसरी प्रदर्शनी गर्ने जिल्लामा हामी नै पहिलो हौँ । हामीले जिल्लाको दुई नगरपालिकासहित ६ वटै गाउँपालिकाका ६४ वटा वडा भित्र पर्ने महत्त्वपूर्ण र चर्चित स्थलहरूलाई समेटेका छौँ ।’

यसरी पहिलो पटक गरिएको पर्दशनी गर्नु अगाडि (एनएफ्पिजे) जिल्ला शाखाले जिल्लाका क्रियाशील पत्रकारहरूसँग समन्वय र सहकार्य समेत गरेर उत्कृष्ट फोटो उपलब्ध गरेको सचिव राजन महताराले बताए । ‘आर्थिक र प्राविधिक दुवैको कठिनताका बिच पहिलो प्रयासबाट हामीले केही सुझाव र आगामी दिनको लागि थप प्रेरणा, हौसला प्राप्त गरेका छौँ ।’

एक दिन भर गरिएको पर्दशनीमा विभिन्न जिल्लाबाट आएका पत्रकारहरूसहित नेपाल सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्य मन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम), प्रदेश सांसदद्वय तारानारायण श्रेष्ठ र आनन्द कुमार श्रेष्ठ, प्रदेशको पर्यटन मन्त्रालयका सचिव देवेन्द्र सुवेदी, रामेछापका प्रमुख जिल्ला अधिकारी राजु प्रसाद पौडेल, पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष कृष्ण सारू मगर, जिल्ला अध्यक्ष दीपक कुमार घिमिरे, प्रदेश संचार रजिष्ट्रर प्रमुख रेवती प्रसाद सापकोटा, (एनएफपिजे) नेपालका केन्द्रीय वरिष्ठ उपाध्यक्ष लेखबहादुर श्रेष्ठ (सागर), कोषाध्यक्ष प्रदीप कुमार श्रेष्ठ, (डिएसपी) प्रदीप कुमार सिंहसहित जिल्लाका सबै सुरक्षा निकायका प्रमुखहरूसहित करिब डेढ सय जनाले प्रत्यक्ष रूपमा अवलोकन गरेको (एनएफपिजे) रामेछापका अध्यक्ष बि क (घिमिरे) ले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button