नेता तथा समाजसेवी भरत चौलागाईद्वारा ४ सय विद्यार्थीलाई ट्याकसुट वितरण

रामेछाप । नेपाली काँग्रेस रामेछापका नेता तथा समाजसेवी भरत प्रसाद चौलागाईले मन्थली नगरपालिका–२ कठजोरस्थित निलकण्ठेश्वर माध्यमिक विद्यालयमा अध्ययनरत ४ सय विद्यार्थीलाई ट्याकसुट वितरण गरेका छन्।
शुक्रबार विद्यालय परिसरमै आयोजित एक विशेष समारोहका बीच चौलागाईले कक्षा ईसिडीदेखि कक्षा १२ सम्म अध्ययनरत सबै विद्यार्थीलाई ट्याकसुट प्रदान गरेका हुन्। उनले मन्थली नगरपालिकाको वडा नम्बर २ र ३ अन्तर्गत रहेका सम्पूर्ण सामुदायिक विद्यालयमा अध्ययन गर्ने बालबालिकालाई ट्याकसुट वितरण गर्ने योजना रहेको जानकारी गराए।
नेता चौलागाईले विगत केही वर्षदेखि रामेछापका विभिन्न सामुदायिक विद्यालयहरूमा कम्प्युटर, प्रिन्टरलगायत शैक्षिक सामग्री प्रदान गर्दै आएका छन्। यसअघि पनि उनले जिल्लाभरका सयौं विद्यार्थीलाई ट्याकसुट वितरण गरिसकेको काँग्रेसका युवा नेता ईश्वर बस्नेतले बताए ।
“ग्रामीण भेगमा रहेका विद्यालयमा अध्ययन गर्ने गरिब र जेहेन्दार विद्यार्थीलाई ट्याकसुटजस्ता सामग्री प्रदान गर्दा उनीहरूको आत्मविश्वास र शैक्षिक अवस्था सुधार गर्न सघाउ पुग्छ भन्ने विश्वासका साथ मैले यो अभियान थालेको हुँ,” चौलागाईले कार्यक्रममा भने।
कार्यक्रमकै अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शंकरप्रसाद अधिकारी र प्रधानाध्यापक कुशप्रसाद दाहालले चौलागाईलाई कदरपत्र प्रदान गरी सम्मान गरेका थिए।
प्रधानाध्यापक दाहालका अनुसार समाजसेवी चौलागाईको निरन्तर सहयोगले विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक गतिविधिमा थप प्रोत्साहन मिलेको छ। उनले भने, “चौलागाईजस्तो सहयोगी व्यक्तित्वले गाउँमा परिवर्तन ल्याउने अभियानलाई गति दिएको छ, जुन अत्यन्तै सराहनीय छ।”

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button