एकीकृत प्रारम्भिक बाल विकास योजना तर्जुमा सम्बन्धी दुई दिने कार्यशाला मन्थलीमा सम्पन्‍न

रामेछाप । रामेछापको मन्थली नगरपालिकामा सञ्‍चालित “एकीकृत प्रारम्भिक बाल विकास योजना तर्जुमा सम्बन्धी दुई दिने कार्यशाला” सम्पन्न भएको छ ।

चाइल्ड नेटवर्क फाउण्डेशनको आर्थिक तथा सेतो गुराँस राष्ट्रिय बालविकास सेवाको प्राविधिक सहयोगमा मन्थली नगरपालिकाको आयोजनामा २० गतेदेखि शुरु भएको कार्यशाला बुधबार सम्पन्‍न भएको हो । मन्थली नगरपालिकाका नगर प्रमुख लव श्रेष्ठको अध्यक्षतामा “गर्दै गरौँ लगानी बाटो, कुलो, पुल, भवन र मन्दिरमा, थप गरौ लगानी प्रारम्भिक बालविकासमा” र “प्रारम्भिक बालविकासमा लगानी, दिगो राष्ट्र विकासको थालनी ” भन्‍ने मूल नाराका साथ सञ्‍चालन गरिएको कार्याशाला दुई दिनसम्म चलेको थियो ।

स्थानीय तहका सरोकारवालाहरूलाई एकीकृत प्रारम्भिक बालविकासको अवधारणाबारे जानकारी दिने, बालबालिकाहरुको सर्वाङ्गीण विकास सुनिश्चित गर्न आवश्यक योजना निर्माणमा स्थानीय तहको भूमिका प्रस्ट पार्ने तथा आगामी आर्थिक वर्षको वार्षिक र आवधिक योजनामा बाल विकास क्षेत्रमा लगानी बढाउन प्रेरित गर्ने लगायतका उद्देश्यले कार्यशाला आयोजना गरिएको मन्थली नगरपालिकाका बालविकास संयोजक नवराज विश्‍वकर्माले बताए । । नेपाल सरकार, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, अन्य सम्बन्धित मन्‍त्रालयहरु, यूनिसेफ नेपाल र सेतो गुराँस राष्ट्रिय बाल विकास सेवाको प्राविधिक सहयोगमा निर्मित स्थानीय तहमा एकीकृत प्रारम्भिक बाल विकास योजना तर्जुमा कार्यशाला स्रोत सामग्री २०७५ को आधारमा कार्यशाला सञ्‍चालन गरिएको विश्‍वकर्माले बताए ।

कार्यशालामा प्रारम्भिक बालविकासको अवधारणा, महत्व र बालबालिकाहरुको सर्वाङ्गीण विकासमा सम्बन्धित सरोकारवालाहरुको भूमिका र प्राको बारेमा प्रस्तुतीकरण गरिएको थियो भने एकीकृत प्रारम्भिक बालविकास योजना निर्माण र प्रारम्भिक बालविकास राष्ट्रिय रणानीतिकाबारेमा समेत प्रस्तुतीकरण गरिएको थियो । कार्यशालामा नगर उप(प्रमुख , नगर भित्रका १४ वटै वडाका वडा अध्यक्ष तथा प्रतिनिध, वडा सचिव, सम्बन्धित शाखाहरु शिक्षा, स्वास्थ्य, खानेपानी तथा विपद्, योजना, महिला, बालबालिका तथा समाज कल्याण शाखा लगायतका शाखा प्रमुखहरु, मन्थली मा. वि. का प्र.अ. टङ्क दाहाल, नगर बाल सञ्‍जालको प्रतिनिधि, गैरसरकारी संस्था हिमाली नवीन समाजका प्रतिनिधि, इसिडी मेन्टर, बालविकास संयोजकसहित ५८ जनाको सहभागिता रहेको थियो । विशिष्ट व्यक्तिहरुको उपस्थितिमा भएको यो कार्यशालालाई स्थानीय तहमा प्रारम्भिक बाल विकासको विषयलाई नीतिगत रूपमा स्थापित गर्न महत्वपूर्ण कदमको रूपमा हेरिएको छ ।

स्थानीय तहमा एकीकृत योजना तर्जुमा गर्नेबारे जनप्रतिनिधि र शाखा प्रमुखहरुको साझा प्रतिबद्धता
कार्यशालाको दोस्रो दिन स्थानीय तहमा एकीकृत योजना तर्जुमा गरी कार्यान्वयन गर्ने विषयमा जनप्रतिनिधि र सम्बन्धित शाखा प्रमुखहरुले साझा प्रतिबद्धता जाहेर गरेका छन् । नगर प्रमुख, उप(प्रमुख, वडा अध्यक्ष, शाखा प्रमुख र जनप्रतिनिधिसहित सहभागीहरुले गर्भावस्था देखि ८ वर्षसम्मका सबै बालबालिकाको सर्वोत्तम हित र सर्वाङ्गीण विकासको अधिकार सुनिश्चित गर्न स्थानीय सरकार, सेवा प्रदायक संस्था, विद्यालय, अभिभावक, शिक्षा, स्वास्थ्य, सञ्चार र नागरिक समाजसँग समन्वय गरी सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका हुन् । यसैगरी समापन सत्रमा बोल्दै मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठले आगामी दिनमा प्रारम्भिक बालविकासका क्षेत्रमा एकीकृत योजना निर्माण गरि कार्यान्वयन गरिने बताए । यसअघि पनि आफूहरुले बालबालिकाको क्षेत्रमा लगानी गर्दै आएकोमा दुई दिने कार्यशालाबाट प्रारम्भिक बालविकासका क्षेत्रमा थप योजना निर्माण र लगानी गर्नुपर्ने कुरा र एकीकृत योजना निर्माण लगायतको कुराको थप आवश्यक्ता महशुस भएको बताए । प्रारम्भिक बालविकासको क्षेत्रमा सेतो गुराँस संस्थाले महत्वपूर्ण योगदान पुर्याइरहेको भन्दै श्रेष्ठले संस्थालाई धन्यवाद समेत दिएका थिए ।

नगर प्रमुखको श्रेष्ठको अध्यक्षतामा पहिलो पटक स्थानीय प्रारम्भिक बालविकास समिति गठन
नगर प्रमुख लव श्रेष्ठको अध्यक्षतामा पहिलो पटक ९ सदस्यीय प्रारम्भिक बालविकास समिति गठन भएको छ । कार्यशालाको दोस्रो दिन नगर प्रमुख श्रष्ठको अध्यक्षतामा गठन भएको समितिको सदस्यमा उप(प्रमुख ईश्वरी बस्‍नेत, कार्यपालिका सदस्य उद्धव रम्तेल, शिक्षा, युवा खेलकूद शाखा प्रमुख विष्णु बहादुर अधिकारी,
स्वास्थ्य शाखा प्रमुख केशव फुयाल, महिला, बालबालिका तथा समाज कल्याण शाखा प्रमुख तथा बालकल्याण अधिकारी रमेशराज सुबेदी र प्रारम्भिक बालविकास विज्ञ माधव उपाध्याय हुनुहुन्छ । समितिको सदस्य(सचिवमा प्रमुख प्रशासकीय अधिकृत देवर्षि सापकोटा रहनु भएको छ । समितिले शिक्षा, स्वास्थ्य, पोषण, सरसफाइ, कृषि र पशुपालन जस्ता क्षेत्रलाई एकीकृत गर्दै प्रारम्भिक बाल विकास कार्यक्रमको लागि आवश्यक प्राविधिक सहायोग तथा अनुगमन गर्ने छ । कार्यशाला मन्थली नगरपालिको सभाहलमा भएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button