Trending

पार्टीकै झण्डा बोकेर ‘संविधान रक्षा’ ¥याली

रामेछाप । हालैको जेनजी आन्दोलनपछि धेरै दलहरू आफ्नो संगठन र अस्तित्वकै प्रश्नमा मौनता रोजिरहेका बेला नेकपा एमाले रामेछापले भने संविधान दिवसको अवसरमा खुलेरै पार्टीको झण्डा बोकेर ¥याली गरेको छ । अन्य दलहरू जेनजी आन्दोलनको असर र असन्तोषका कारण आक्रामक कार्यक्रम गर्न डराइरहेका बेला एमालेले भने संविधान र लोकतन्त्रको रक्षा आफ्नै पहिलो प्रतिज्ञा भन्दै मन्थलीमा भव्य ¥याली निकालेको हो ।
शुक्रवार सदरमुकाम मन्थलीमा आयोजित ¥याली तथा भेलामा एमालेका नेता–कार्यकर्ताले “संविधान, सार्वभौमसत्ता र राष्ट्रियताको पक्षमा कुनै सम्झौता नगर्ने” अठोट व्यक्त गरे । पार्टीको झण्डा र ‘नेकपा एमाले जिन्दाबाद’को नारासहित एमाले रामेछापले ¥याली निकालेकोे थियो ।
जिल्ला कमिटी अध्यक्ष पुरुषोत्तम कडरियाको अध्यक्षतामा सम्पन्न भेलामा पोलिटब्युरो सदस्य तथा जिल्ला इन्चार्ज कमल प्रसाद चौलागाई, संगठन विभाग सचिव माधव ढुङ्गेल, केन्द्रीय सदस्य गीता कार्की, बागमती प्रदेश सचिवालय सदस्य शान्ति प्रसाद पौडेलसहित प्रदेशस्तरीय नेताहरूको विशेष उपस्थिति रहेको थियो । भेलामा प्रदेशदेखि वडा तहसम्मका नेता–कार्यकर्ताको उत्साहपूर्ण सहभागिता देखिएको थियो ।
सभामा बोल्ने नेताहरूले आन्दोलनका क्रममा भएको हिंसा र आगजनीबारे निष्पक्ष छानबिन गरी सत्य जनतामाझ ल्याउन सरकारलाई जोडदार माग गरे । नेताहरूले संविधान, लोकतन्त्र र राष्ट्रियताको रक्षा सबैभन्दा ठूलो जिम्मेवारी भएको उल्लेख गर्दै एमाले मात्र यो मुलुकलाई संकटबाट उबार्ने शक्ति भएको दाबी गरे । “देश, संविधान र लोकतन्त्रविरुद्ध हुने कुनै पनि षड्यन्त्रको सामना गर्न एमाले अग्रपङ्तिमा रहन्छ,” भेलामा नेताहरूको साझा भनाइ थियोे ।
भेलापछि प्रचार तथा प्रकाशन विभाग प्रमुख राकेश श्रेष्ठले जारी गरेको प्रेस विज्ञप्तिमा जिल्ला कमिटीले सबै पालिका, वडा कमिटी र जनसंगठनलाई थप क्रियाशील बन्न निर्देशन दिएको छ । संविधान र लोकतन्त्रको पक्षमा सम्पूर्ण राजनीतिक दल, नागरिक समाज र संघसंस्थालाई एउटै मोर्चामा उभिन पनि आग्रह गरिएको विज्ञप्तिमा उल्लेख छ ।
युवाहरूको आक्रोशका बीच काँग्रेसलगायत अन्य दलहरू पार्टी झण्डा र नारा प्रयोग गर्न हिच्किचाइरहेका बेला एमालेले भने संविधान दिवसमा खुलेरै पार्टीको झण्डा बोकेर ¥याली गरेको दृश्यले राजनीतिक वृत्तमा चर्चा बटुलेको छ । कतिपयले यसलाई एमालेको साहसिक कदम भन्दै प्रशंसा गरेका छन् भने केहीले भने जेनजी आन्दोलनकै सन्देशलाई दलहरूले अझै गम्भीर रूपमा नबुझेको टिप्पणी गरेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button