संसद् विघटनदेखि राजनीतिक सङ्कटसम्मका विषयमा चेतावनी

रामेछाप । शनिबार मन्थलीमा आयोजित एमाले रामेछापको जनसभामा नेताहरूले संसद् विघटनदेखि राजनीतिक सङ्कटसम्मका विषयमा कडा चेतावनीसहित ‘निर्णायक सन्देश’ जनतामा पु¥याउने घोषणा गरेका छन्।
कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा रामेछाप जिल्ला इन्चार्ज कमलप्रसाद चौलागाईले आगामी मङ्सिर ६ गते काठमाडौँमा हुने पार्टीको शक्ति प्रदर्शनबाट नै देशमा बढ्दै गएको ‘राजनीतिक अन्योल, संसद् विघटन र बाह्य हस्तक्षेप’बारे स्पष्ट सन्देश दिने बताए। उनले वर्तमान परिस्थितिलाई ‘राजनीतिक षड्यन्त्र’को उपज भन्दै यसको अन्त्य सडक आन्दोलनमार्फत मात्र सम्भव हुने दाबी गरे।
“जेनजी आन्दोलनको नाममा सरकार, संसद् र संविधानमाथि भएको खेल इतिहासकै बदनाम अध्याय हो,” चौलागाईले भने, “अब जनतालाई उठाएर यो संकट काटिन्छ।”
कार्यक्रममा एमाले केन्द्रीय सदस्य गीता कार्कीले संविधानलाई कमजोर पार्ने प्रयास तीव्र भएको आरोप लगाउँदै एमाले त्यसको सामना गर्न सडकमा उत्रिएको बताइन्। “बलिदान र त्यागले बनेको संविधानलाई कागजको खोस्टा बनाउने षड्यन्त्र हुँदैछ, अब हामी मौन बस्दैनौँ,” उनले भनिन्।
त्यसैगरी, एमाले बागमती प्रदेश कमिटीका अध्यक्ष कैलाश प्रसाद ढुंगेलले विघटित संसद जुनसुकै अवस्थामा पनि पुनःस्थापना गराएरै छाड्ने दाबी गरे। “संसद फर्काएर केपी शर्मा ओलीलाई फेरि प्रधानमन्त्री बनाउने बेला आएको छ,” उनले स्पष्ट रूपमा भने। उनले मङ्सिर ६ को काठमाडौँ प्रदर्शनलाई ‘ऐतिहासिक’ बनाउन कार्यकर्ता र जनतामा आह्वान समेत गरे।
बागमती प्रदेश उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति आनन्द कुमार श्रेष्ठले वर्तमान सरकारलाई भूराजनीतिक खेल र प्रतिगामी प्रवृत्तिको परिणाम भएको टिप्पणी गरे। “सुशासन, लोकतन्त्रको रक्षा र नागरिक समृद्धिका लागि एमाले सडकमा उभिएको हो,” उनले भने।
एमाले रामेछाप अध्यक्ष पुरुषोत्तम कडरियाले विघटित संसद पुनःस्थापना पार्टीको प्रमुख एजेन्डा भएको बताउँदै रामेछापदेखि काठमाडौँसम्म निरन्तर दबाबमूलक कार्यक्रम सञ्चालन हुने जानकारी दिए।
मन्थली क्याम्पस स्ववियु सभापति सुशील थापाले जिल्लामा जेनजी आन्दोलन ‘सन्तुलित’ रूपमा रहनुको कारण जिम्मेवारीपूर्वक आन्दोलन नेतृत्व गर्नु भएको बताए। “रामेछापमा आगजनी–तोडफोड हुन नदिन हामी अग्रपङ्क्तिमा सक्रिय थियौँ,” उनले दाबी गरे।



