रामेछाप एमाले सचिवालय गठन विवादको केन्द्रबिन्दुमाः “विधानमाथि आसेपासेको कब्जा”

रामेछाप । रामेछापको नेकपा (एमाले) जिल्ला कमिटिको पदाधिकारी बैठकले २७ सदस्यको नयाँ जिल्ला सचिवालय गठन गरेसँगै पार्टीभित्र चौतर्फी विरोध सुरु भएको छ। बैठकले ८ जना आमन्त्रित सदस्य मनोनित गरेको छ भने १०२ सदस्यको सल्लाहकार परिषद् गठन गरेको छ। तर, यी निर्णयले पार्टीको आन्तरिक विधान र लोकतान्त्रिक अभ्यासमाथि प्रश्न उठाएको आरोप छ।
जिल्ला कमिटी सदस्य तथा युवा नेता अमित कार्कीले सचिवालय गठन प्रक्रिया विधि–विधान विपरित भएको आरोप लगाएका छन्। उनले सामाजिक संजालमार्फत लेखेका छन्, “नेकपा एमालेको विधान विपरित आमन्त्रित सदस्यको हैसियतमा सचिवालय बैठकमा सहभागी गराउने निर्णय गरी सर्कुलर जारी गर्ने अधिकार केवल जिल्ला अध्यक्ष पुरुषोत्तम कडेरियालाई मात्र छ कि? अरु सबै जिल्ला कमिटीलाई छ? विधान विपरीत जिल्ला कमिटीको पूर्ण बैठक समेत नराखी आफू खुसी आफ्ना आसेपासेहरूलाई सचिवालय सदस्य मनोनीत गर्ने अधिकार कसले दियो होला? जोसुकैले पार्टीको विधान विपरीत गर्ने निर्णय मान्य हुने छैन। पार्टी विधि र पद्धति विधानभन्दा माथि कोही छैन।”
कार्कीको असन्तोष केवल व्यक्तिगत विरोधमा सीमित छैन। उनका अनुसार सचिवालय र सल्लाहकार परिषद् गठन गर्दा औपचारिक छलफल वा जिल्ला कमिटिको पूर्ण बैठक डाकिएको थिएन। यसले युवा नेतृत्वको मनोबलमा असर पुर्याएको कार्कीले बताए।
यस्तै, एमालेका नेता लवहरी बुढाथोकीले पनि निर्णयको पारदर्शिता र सुशासनप्रति प्रश्न उठाएका छन्। उनले भने, “महिनौं अगाडि सम्पन्न जिल्ला कमिटी बैठकमा प्रस्ताव नै नआएको र छलफल नभएको एजेन्डालाई निर्णय भएको भनेर सर्कुलर जारी गर्नु कतिको सुशासन हो?”
वेतिथि र अन्यायका विरुद्ध सदैव आवाज उठाउने लिखु तामाकोसी गाँउपालिका कमिटी अध्यक्ष के बी पौडेलले समर्थन जनाउँदै पार्टीभित्र गुटबन्दी र आसेपासे सञ्जालको प्रबृत्तिलाई आलोचना गरेका छन्। उनले लेखेका छन्, “केन्द्रीय सदस्य केन्द्रमै रहेर अरुलाई सिध्याएर आफू हिरो बन्ने, जिल्ला अध्यक्ष भित्रभित्रै गुटबन्दी गरेर आसेपासे च्याप्ने, बाँकी सबै गोरु बनेर हलो जोतिदिनु पर्ने प्रबृत्ति अन्त्य नहुने हो भने, हामी पनि हेर्छौं।” भन्दै आक्रोस समेत व्यक्त गरेका छन् ।
जिल्लाको कमिटिको काम प्रती ७० प्रतिशत कमिटिसदस्यहरु असन्तुष्ट रहेका नाम नभन्ने सर्तमा एक नेताले दु:ख व्यक्त गरे ।





