खाँडादेवी रनिङ शिल्ड – भिमेस्वरको दबदबा, प्रयागेश्वर नजिकैको प्रतिस्पर्धी

रामेछाप । खाँडादेवी गाउँपालिका स्तरीय आठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भिमेस्वर माध्यमिक विद्यालयले पदक तालिकामा अग्रता कायम गरेको छ। आइतबारसम्म सम्पन्न खेलहरूमा भिमेस्वर माविले ८ स्वर्ण, ३ रजत र ४ कास्यसहित कुल १५ पदक जित्दै सबै विद्यालयलाई पछि पारेको हो।
कुल ३० स्वर्ण पदकका लागि भइरहेको प्रतिस्पर्धामा प्रयागेश्वर माध्यमिक विद्यालय भने भिमेस्वरलाई कडा चुनौती दिइरहेको छ। प्रयागेश्वरले ६ स्वर्ण, ६ रजत र २ कास्य गरी १४ पदक हात पार्दै शीर्ष स्थानको होडमा आफूलाई बलियो रूपमा उभ्याएको छ।
अन्य विद्यालयहरूको प्रदर्शन पनि उल्लेखनीय देखिएको छ। विष्णु माध्यमिक विद्यालयले १ स्वर्ण, ३ रजत र ५ कास्यसहित ९ पदक जित्दा भारती माध्यमिक विद्यालयले २ स्वर्ण, २ रजत र ३ कास्य गरी ७ पदक आफ्नो पक्षमा पारेको छ। प्रगतिशील माध्यमिक विद्यालयले २ रजत र ३ कास्यसहित ५ पदक प्राप्त गरेको छ।
खाँडादेवी माध्यमिक विद्यालय चोप्राङले २ स्वर्ण, २ रजत र १ कास्य गरी ५ पदक जितेको छ भने बुद्ध भवानी माध्यमिक विद्यालयले १ स्वर्ण, १ रजत र २ कास्यसहित ४ पदक हात पारेको छ। कृष्ण माध्यमिक विद्यालयले २ रजत र १ कास्य गरी ३ पदक ल्याएको छ।
त्यसैगरी ज्योति माध्यमिक विद्यालयले १ स्वर्ण र १ कास्य पदक जितेको छ भने श्री माध्यमिक विद्यालयले १ स्वर्ण पदकमा चित्त बुझाएको छ। मानेडाँडा माध्यमिक विद्यालयले १ कास्य पदक मात्र जित्दा खाँडादेवी माध्यमिक विद्यालय मझुवाले हालसम्म पदक खाता खोल्न सकेको छैन।
एथलेटिक्स संयोजक रामकुमार श्रेष्ठका अनुसार प्रतियोगितामा छात्र–छात्रा कबड्डी, भलिबल तथा ८०० र २०० मिटर दौडका प्रतिस्पर्धा अझै बाँकी छन्। बाँकी खेलहरू सम्पन्न भएपछि अन्तिम पदक तालिका तय हुने उनले बताए।
गत शनिबारदेखि गाउँपालिकाको केन्द्र माकादुममा सुरु भएको प्रतियोगिताका सबै खेलहरू आजै सम्पन्न हुने आयोजकले जनाएको छ।



