Trending

भोट माग्न उमाकुण्डको बाम्तिमा पुगे माधव

रामेछाप । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दलहरूले गाउँगाउँमा चुनावी अभियानलाई तीव्र बनाएका छन्। यसै क्रममा नेकपा (एमाले) रामेछापले उमाकुण्ड गाउँपालिका–२, बाम्तिभण्डारमा बुधबार मतदाता भेटघाट तथा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ।
एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार माधवप्रसाद ढुंगेलसहितको टोलीले बाम्तिका स्थानीय समुदायसँग प्रत्यक्ष भेटघाट गर्दै आगामी निर्वाचनका लागि आफ्नो पक्षमा मत मागेको हो। हिमाली क्षेत्रको प्रतिकूल मौसमका बाबजुद पनि उम्मेदवार ढुंगेललाई स्वागत गर्न बाम्तिका मतदाताहरू उल्लेख्य संख्यामा उपस्थित थिए।
मतदाताहरूसँगको अन्तक्र्रियामा उम्मेदवार ढुंगेलले रामेछापको समग्र विकासका लागि एमालेको विकल्प नभएको दाबी गरे। विशेषगरी उमाकुण्ड क्षेत्रको सडक पूर्वाधार, पर्यटन प्रवद्र्धन र जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्ने आफ्नो मुख्य योजना रहेको उनले सुनाए।
“उमाकुण्ड क्षेत्र प्राकृतिक रूपमा धनी भए पनि पूर्वाधारमा पछि परेको छ,“ ढुंगेलले भने, “बाम्तिभण्डारलाई पर्यटकीय हब बनाउने र यहाँका युवालाई गाउँमै रोजगारी दिने खालका कार्यक्रमहरू मेरो प्राथमिकतामा छन्।“ उनले विगतमा एमाले सरकारले अघि सारेका योजनाहरूलाई पूर्णता दिन पनि सूर्य चिह्नमा मतदान गर्न आग्रह गरे।
भेटघाटका क्रममा स्थानीय बासिन्दाले उम्मेदवार समक्ष कृषि उपजको बजार व्यवस्थापन, गुणस्तरीय स्वास्थ्य सेवा र शिक्षाको समस्या समाधान गर्न माग गरेका थिए। स्थानीय एक वृद्ध मतदाताले भने, “हामीलाई चुनाव जित्ने नेता मात्र होइन, जितेपछि गाउँको दुख बुझ्ने प्रतिनिधि चाहिएको छ। बाम्तिको बाटो बाह्रै महिना चल्ने बनाइदिनुपर्यो।“
कार्यक्रममा एमालेका जिल्लास्तरीय नेताहरूले वर्तमान राजनीतिक समीकरण र एमालेले लिएको ’सुखी नेपाली, समृद्ध नेपाल’ को संकल्पबारे चर्चा गरेका थिए। उनीहरूले जिल्लाको उत्तरी क्षेत्रको विकासका लागि ढुंगेलको उम्मेदवारी महत्त्वपूर्ण रहेको जिकिर गरे।
एमाले रामेछापका अनुसार अबका दिनमा अन्य वडाहरूमा पनि टोलस्तरका भेला र घरदैलोलाई निरन्तरता दिइनेछ। बाम्तिमा भएको यस कार्यक्रमले उम्मेदवार र मतदाताबीचको दुरी कम गरेको र चुनावी माहोल थप उत्साहजनक बनाएको एमालेको दाबी छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button