Trending

उमाकुण्ड आइडल नृत्य विधातर्फ विद्यार्थी छनोट सुरु

रामेछाप — उमाकुण्ड गाउँपालिकाको आयोजनामा सञ्चालन हुन लागेको उमाकुण्ड आइडल कार्यक्रम अन्तर्गत नृत्य विधातर्फ विद्यार्थी छनोट प्रक्रिया सुरु भएको छ। स्थानीय तहमा लुकेर रहेका बालबालिकाका प्रतिभाको पहिचान, प्रोत्साहन र प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम अघि बढाइएको गाउँपालिकाले जनाएको छ।
सोही क्रममा उमाकुण्ड गाउँपालिका–४ प्रितीस्थित श्री चण्डेश्वरी माध्यमिक विद्यालयको आयोजनामा माघ १५ गते फिडर विद्यालयहरूको सहभागितामा वडा स्तरीय नृत्य प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामार्फत उमाकुण्ड आइडल कार्यक्रममा सहभागी हुन इच्छुक विद्यार्थीहरूबीच प्रतिस्पर्धा गराइएको थियो।
प्रतियोगिताबाट कुसुम सुनुवार र मनिता सुनुवार उत्कृष्ट नृत्य प्रतिभाका रूपमा उमाकुण्ड आइडल नृत्य विधातर्फ छनोट भएको विद्यालयले जानकारी दिएको छ। प्रतियोगितामा सहभागी विद्यार्थीहरूले मौलिक, सांस्कृतिक तथा आधुनिक नृत्य प्रस्तुत गर्दै आफ्नो कला प्रदर्शन गरेका थिए। नृत्यकला, तालमेल, प्रस्तुति र भाव अभिव्यक्तिका आधारमा निर्णायक समितिले उत्कृष्ट प्रतियोगी छनोट गरेको थियो।
कार्यक्रममा शिक्षक, अभिभावक, स्थानीय जनप्रतिनिधि तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।
गाउँपालिकाका अनुसार उमाकुण्डका सातै वडामा वडा स्तरीय नृत्य प्रतियोगिता आयोजना गरी प्रत्येक वडाबाट उत्कृष्ट प्रतियोगी छनोट गरिनेछ। वडाबाट छनोट भएका प्रतियोगीहरूलाई समेटेर गाउँपालिका स्तरीय नृत्य प्रतियोगिता आयोजना गरिनेछ, जसबाट उमाकुण्ड आइडल नृत्य विधातर्फका उत्कृष्ट प्रतिभा अन्तिम रूपमा छनोट गरी पुरस्कृत गरिनेछ।
उमाकुण्ड आइडल कार्यक्रममार्फत विद्यार्थीहरूमा आत्मविश्वास वृद्धि, सिर्जनशीलताको विकास तथा कला–संस्कृतिको संरक्षणमा टेवा पुग्ने अपेक्षा गरिएको गाउँपालिकाले जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button