Trending

१७ महिनापछि खैरनीघाटमा फर्कियो उत्साह

रामेछाप । गत वर्ष असोजको बाढीले खैरनीघाटको पक्की पुल मात्र बगाएको थिएन, पश्चिमी रामेछापको लाइफलाइन नै चुँडाएको थियो । सुनकोशीको उर्लंदो भेलले सिङ्गो जिल्लालाई बीपी राजमार्गसँग जोड्ने मुख्य कडी छियाछिया पारेपछि रामेछापेलीका १७ महिना सास्तीमै बिते । तर, लामो प्रतीक्षा र पटक–पटकको दबाबपछि अन्ततः खैरनीघाटमा बेलिब्रिज तयार भएको छ र शनिबारदेखि सवारीसाधनहरूको ओहोरदोहोर सुरु भएको छ ।
पुलको संरचना तयार भएर गाडी गुड्न थालेसँगै स्थानीयका अनुहारमा चमक फर्किएको छ । पश्चिमी रामेछापको खाँडादेवी र सुनापति गाउँपालिकाका हजारौँ नागरिक, जो १७ महिनादेखि सिन्धुरेटार र सित्खाको जोखिमपूर्ण घुमाउरो बाटो प्रयोग गर्न बाध्य थिए, उनीहरूका लागि यो बेलिब्रिज पुनर्जन्म जस्तै बनेको छ ।
बाढीले पुल बगाएपछि पश्चिमी रामेछापको व्यापारिक र सामाजिक सम्बन्ध काठमाडौंसँग निकै टाढिएको थियो । “बिरामीलाई अस्पताल पु¥याउन र बारीको तरकारी बजारसम्म पु¥याउन असम्भव जस्तै भएको थियो,“ स्थानीय युवा राज मैनाली भन्छन्, “सिन्धुरेटारको साँघुरो र उकालो बाटोमा गाडी चलाउनु भनेको मृत्युसँग जुध्नु जस्तै थियो । अहिले खैरनीघाटमा गाडी गुड्दा ठुलो भारी बिसाएको महसुस भएको छ ।“
खुर्कोटको पुल बगाएको २८ दिनमै बेलिब्रिज हालिए पनि खैरनीघाटमा भने सरकारले बेवास्ता गरेको भन्दै स्थानीयले लामो समयदेखि आक्रोश पोख्दै आएका थिए । ढिलै भए पनि सडक विभागले दक्षिणतर्फको बाँकी पक्की संरचनालाई आधार बनाएर उत्तरतर्फ बेलिब्रिज जोडेपछि यातायात सहज भएको हो ।
बेलिब्रिजले तत्कालका लागि राहत त दिएको छ, तर स्थानीयको माग भने स्थायी समाधानको छ । सुनकोशीमा आउने हरेक बर्खाको बाढीले अस्थायी संरचनालाई जोखिममा पार्ने निश्चित छ । जिल्लाका सरोकारवालाहरूले खैरनीघाटको वर्तमान स्थानभन्दा केही पूर्वतर्फ रहेको टुप्पीडाँडा क्षेत्रमा नयाँ पक्की पुल निर्माण गर्नुपर्ने माग राख्दै आएका छन् ।
प्राविधिकहरूले पनि टुप्पीडाँडाको स्थान बाढीको दृष्टिकोणले सुरक्षित रहेको निष्कर्ष निकालेका छन् । “बेलिब्रिज अस्थायी विकल्प मात्र हो, हामीलाई दिगो समाधान चाहिन्छ,“ अर्का एक स्थानीयले गुनासो गरे, “सरकारले टुप्पीडाँडामा नयाँ पुलका लागि बजेट सुनिश्चित नगरेसम्म हाम्रो टाउकोमाथिको तरबार हट्दैन ।“

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button