Trending

भविष्यका डाक्टरका लागि गोकुलगंगाको लगानी

रामेछाप । विकटता र अभावका बीचबाट कहिलेकाहीँ यस्ता आशलाग्दा किरणहरू उदय हुन्छन्, जसले सिङ्गो समाजलाई नै उज्यालो बनाउने सामथ्र्य राख्छन्। रामेछापको गोकुलगंगा गाउँपालिका वडा नम्बर ३, रस्नालुका प्रदिप घिमिरे (विक) अहिले त्यस्तै एउटा आशाको केन्द्र बनेका छन्।
आर्थिक अभावका कारण जेहेन्दार विद्यार्थीहरूले आफ्नो सपना मार्नुपर्ने बाध्यतालाई चिर्दै गोकुलगंगा गाउँपालिकाले अघि सारेको “एमबीबीएस छात्रवृत्ति कार्यक्रम“ अन्तर्गत प्रदिप छनौट भएका छन्। नेपाल मेडिकल कलेजमा अध्ययनरत प्रदिपलाई गाउँपालिकाले ५० प्रतिशत छात्रवृत्ति उपलब्ध गराउने निर्णय गरेसँगै उनको डाक्टर बन्ने यात्राले थप गति लिएको छ।
गोकुलगंगा गाउँपालिकाको वार्षिक नीति तथा कार्यक्रमले शिक्षा र स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेको छ। दुर्गम गाउँमा दक्ष जनशक्तिको अभाव सधैँ खड्किने विषय हो। यही अभावलाई पूर्ति गर्न र स्थानीयस्तरमै दक्ष चिकित्सक उत्पादन गर्ने उद्देश्यले गाउँपालिकाले आफ्ना नागरिकलाई उच्च शिक्षामा सहयोग गर्ने नीति लिएको हो।
हाम्रो लक्ष्य भनेको गोकुलगंगाका छोराछोरीले पैसाको अभावमा पढ्नबाट वञ्चित हुन नपरोस् । प्रदिप जस्ता जेहेन्दार विद्यार्थीले भोलि गाउँमै फर्किएर सेवा गरून् र यहाँको स्वास्थ्य अवस्था सुधारमा इँटा थपुन् भन्ने हाम्रो चाहना छ, गाउँपालिका अध्यक्ष श्री काजी बहादुर खड्काले भने ।
प्रदिप घिमिरेको छनौट केवल एक व्यक्तिको सफलता मात्र होइन, यो गोकुलगंगाको शैक्षिक र सामाजिक रूपान्तरणको एउटा महत्वपूर्ण पाइला पनि हो।
प्रदिपको यात्रा सहज थिएन। रस्नालुको सामान्य परिवारमा जन्मिएका उनले सानैदेखि देखेको डाक्टर बन्ने सपना पूरा गर्न थुप्रै चुनौतीहरू पार गरेका छन्। चिकित्सा शिक्षा जस्तो खर्चिलो विधामा अध्ययन गर्नु आर्थिक रूपमा विपन्न परिवारका लागि फलामको चिउरा चपाउनु सरह हो।
तर, प्रदिपको लगनशीलता र गाउँपालिकाको अभिभावकीय भूमिकाले आज एउटा सुखद मोड लिएको छ। तोकिएको कडा मापदण्ड र प्रतिस्पर्धात्मक प्रक्रिया पार गर्दै उनी यस छात्रवृत्तिका लागि योग्य ठहरिएका हुन्। यसले के पुष्टि गर्छ भने, यदि राज्य वा स्थानीय सरकारले उचित अवसर दिने हो भने दूरदराजका प्रतिभाहरूले पनि विश्वस्तरको शिक्षा हासिल गर्न सक्छन्।
प्रदिप घिमिरे एउटा प्रतिनिधि पात्र मात्र हुन्। उनी जस्ता धेरै युवाहरू अवसरको खोजीमा छन्। गोकुलगंगा गाउँपालिकाले चालेको यो छात्रवृत्तिको कदम अन्य स्थानीय तहका लागि पनि सिकाईको विषय बन्न सक्छ। भौतिक पूर्वाधार (बाटो, कुलो) निर्माण मात्र विकास होइन, मानव संशाधनको विकास नै वास्तविक समृद्धि हो भन्ने उदाहरण गोकुलगंगाले पेश गरेको छ।
प्रदिपलाई आगामी दिनमा एक सफल चिकित्सकका रूपमा देख्न पाउने र उनले आफ्नै गाउँका बिरामीहरूको घाउमा मलम लगाउने दिन छिट्टै आउनेछ भन्ने विश्वास गाउँपालिकाले लिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button