ग्वार्को चोकमा बस दुर्घटना: एक जनाको मृत्यु, १८ घाइते

ललितपुर, साउन २२ — ललितपुर महानगरपालिका–१७ स्थित ग्वार्को चोकमा बिहीबार बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन्।कोटेश्वरबाट सातदोबाटोतर्फ जाँदै गरेको बा २ ख ३५९० नम्बरको बस ग्वार्कोस्थित फ्लाईओभरको भित्तामा ठोक्किएर अनियन्त्रित भई पल्टिएको प्रहरीले जनाएको छ। करिब ३० जना सवार उक्त बस दुर्घटना पर्दा दोलखा सैलुङ गाउँपालिका घर भई हाल भक्तपुरको सूर्यविनायक बस्ने ४० वर्षीया जेनिशा लामाको मृत्यु भएको छ।दुर्घटनामा घाइते भएका १८ जनाको उद्धार गरी उपचारका लागि बी एण्ड बी अस्पताल र ग्लोबल अस्पताल लगिएको छ। घाइतेहरूमध्ये ९ जनाको बी एण्ड बी र ९ जनाको ग्लोबल अस्पतालमा उपचार भइरहेको छ।प्रहरीका अनुसार बी एण्ड बी अस्पतालमा उपचाररत घाइतेहरूमा रामेछापकी २३ वर्षीया सुन्निमा योन्जन, कञ्चनपुरका २४ वर्षीय तुल्सी धानुक, भक्तपुरकी ४० वर्षीया कविता कार्की, सिन्धुली मरिनका ३३ वर्षीय धन कुमार ढोङ, भक्तपुर ठिमीकी ३७ वर्षीया लक्ष्मी श्रेष्ठ, चाँगुनारायणकी २४ वर्षीया रशिला दुलाल, बसका ६० वर्षीय सहचालक कृष्णराम थापा, काभ्रे बनेपाकी ४१ वर्षीया अमृता कार्की र ललितपुर महालक्ष्मीकी ४० वर्षीया कविता केसी रहेका छन्।यस्तै, ग्वार्कोस्थित ग्लोबल अस्पतालमा दोलखाका २४ वर्षीय विवेक दाहाल, सिन्धुलीकी १९ वर्षीया भगवती खत्री, भक्तपुरकी ४७ वर्षीया चन्दानाथ सिंह, सोही ठाउँकी २८ वर्षीया जुनु शिल्पकार, ललितपुरकी ४९ वर्षीया तुल्सी देवी खड्का, महोत्तरीकी २१ वर्षीया अन्जु साह, काठमाडौंका २७ वर्षीय आशुतोष श्रेष्ठ, सिन्धुपालचोककी ३६ वर्षीया स्तर देउजा र भारत घर भई हाल कौशलटार बस्ने ४५ वर्षीय मोहम्मद समिमको उपचार भइरहेको छ।दुर्घटनापछि बस चालक काभ्रेपलाञ्चोक तेमाल गाउँपालिका–३ घर भई हाल भक्तपुर मालपोत क्षेत्रमा बस्दै आएका ३६ वर्षीय लक्षु तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button