निष्ठा, विकास र युवा नेतृत्वको पर्याय विराज श्रेष्ठः खाँडादेवी काँग्रेसको नेतृत्व सम्हाल्न मैदानमा

रामेछाप । नेपाली काँग्रेसको संगठन निर्माण, लोकतान्त्रिक आन्दोलन र सामाजिक रूपान्तरणमा निरन्तर क्रियाशील युवा नेता विराज श्रेष्ठले खाँडादेवी गाउँपालिकाको पार्टी सभापति पदका लागि आफ्नो दाबेदारीलाई थप सशक्त र बलियो बनाएका छन् । विद्यार्थी राजनीतिदेखि सुरु भएको उनको निष्ठावान् र समर्पणयुक्त राजनीतिक यात्राका कारण उनी अहिले खाँडादेवीका काँग्रेस कार्यकर्ता तथा आम मतदातामाझ लोकप्रिय र आशालाग्दा नेताका रूपमा स्थापित भएका छन् ।
श्रेष्ठको राजनीतिक तथा सामाजिक यात्रा करिब साढे नौ वर्षसम्म विद्यालयको एकाइ कमिटीमा बसेर काम गरेबाट सुरु भएको थियो । अध्ययनसँगै विद्यार्थी हकहित र शैक्षिक सुधारका पक्षमा वकालत गर्दै उनी नेपाल विद्यार्थी संघ (नेविसंघ) को केन्द्रीय प्रतिनिधि बने । विद्यार्थी राजनीतिमा देखाएको इमानदारी, जुझारूपन र संगठनात्मक क्षमताका कारण उनले छिटै स्थानीय नेता तथा कार्यकर्ताहरूको मन जित्न सफल भए ।
नेविसंघको सफल जिम्मेवारीपछि उनी पार्टीको मूल राजनीतिमा प्रवेश गरे । साविक पकरवास गाविसको पार्टी सचिवका रूपमा जिम्मेवारी सम्हाल्दै उनले गाउँ–गाउँमा काँग्रेसको संगठन विस्तार र सुदृढीकरणमा उल्लेख्य भूमिका खेले । त्यसपछिका दिनहरूमा खाँडादेवी गाउँपालिका ५ का वडा सभापतिको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेका श्रेष्ठले १३ औँ महाधिवेशनमा क्षेत्रीय कमिटी सदस्यका रूपमा आफ्नो राजनीतिक परिपक्वता प्रमाणित गरिसकेका छन् ।
विराज श्रेष्ठ गफमा भन्दा काममा विश्वास गर्ने नेताका रूपमा चिनिन्छन् । वडा सभापति छँदै उनले देखाएको विकासप्रतिको दूरदर्शिता प्रशंसायोग्य छ । उनकै विशेष पहल र निरन्तरको दौडधुपका कारण गत वर्ष मात्रै प्रदेश सरकारबाट १ करोड बराबरको बजेट वडामा ल्याउन सफल भएका थिए । उक्त बजेटमार्फत गाउँका खानेपानी धारा, सडक, स्कुल तथा भौतिक पूर्वाधारको निर्माण र स्तरोन्नतिमा ठूलो परिवर्तन आएको छ ।
राजनीतिलाई पद र अधिकारमा मात्र सीमित नराखी सेवाको भावनाले अघि बढाएका श्रेष्ठ गाउँका हरेक सुख–दुःखका साथी हुन् । गाउँका गरिब, विपन्न, बिरामी तथा विद्यार्थीहरूका लागि उनी सधैँ सहारा बनेका छन् । बिरामी परेकाहरूलाई उपचारका लागि अस्पताल पु¥याउनेदेखि विपन्न विद्यार्थीहरूलाई अध्ययनमा सहजीकरण गर्नेसम्मका काम उनले निःस्वार्थ भावले गर्दै आएका छन् । साथै, समाजमा हुने साना–ठूला विवाद, अन्याय र विभेदमा परेका स्थानीयलाई दिन–रात नभनी न्याय दिलाउन उनी अग्रपंक्तिमा खट्ने गर्छन् ।
अहिले खाँडादेवी गाउँपालिकालाई विकास, सुशासन र समृद्धिको दिशामा अघि बढाउन काँग्रेसभित्र ऊर्जावान्, गतिशील र सबैलाई समेट्न सक्ने नेतृत्वको आवश्यकता महसुस गरिएको छ । यही आवश्यकतालाई बोध गर्दै श्रेष्ठले गाउँपालिका सभापतिमा आफ्नो उम्मेदवारी अघि सारेका हुन् । “मैले लामो समयदेखि पार्टीको जग बलियो बनाउन र जनताका समस्या समाधान गर्न इमानदार भएर काम गरेको छु,“ श्रेष्ठले भने, “अब खाँडादेवीमा काँग्रेसलाई अझै सुदृढ, समावेशी, अनुशासित र मजबुत बनाउनका साथै गाउँपालिकाको समृद्धिका लागि नयाँ योजना र प्रतिबद्धताका साथ अघि बढ्ने मेरो तयारी छ।“
पार्टीका पुराना तथा त्यागी नेताहरूप्रति आदर र युवा पुस्तालाई प्रोत्साहन गर्ने उनको समावेशी शैलीका कारण खाँडादेवीमा विराज श्रेष्ठको पक्षमा व्यापक माहोल बन्दै गएको छ । उनी सभापति बनेमा खाँडादेवीमा नेपाली काँग्रेस नयाँ उँचाइमा पुग्ने विश्वास स्थानीय कार्यकर्ताहरूले व्यक्त गरेका छन् ।



