इजरायल र प्यालेस्टाइनबीचको युद्ध रोक ।
इजरायल र प्यालेस्टाइनबीचको युद्धको असर नेपालमा पनि परेको छ घटनामा कारण एक दर्जन जति निर्दोष नेपाली विद्यार्थिहरुले मृत्यु वरण गर्नु प¥यो भने कति घाइते पनि भएका छन् । इजरायलमा रहेर जोखिममा परेका नेपालीहरूलाई उद्धार गर्ने कामलाई सरकारले पनि तदारुकता देखाउँदै पहिलो चरणमा नेपाल एरलाईन्सको जहाजले विद्यार्थिहरु लिएर आइसकेको छ भने मृतकहरूको शव पनि ल्याउने तयारी गरिरहेको छ । यहुदीहरूले प्यलेस्टाइनको जमिन खोसेर आफ्नो राज्य बनाएपछि उनीहरुविरुद्ध गरेको आक्रमणका कारण अहिलेसम्म हजारौँ नागरिकले ज्यान गुमाएका छन् । भूमध्यसागर र जोर्डन नदीबिचमा रहेको प्यालेस्टाइन भूमि मुस्लिम, यहुदी र इसाई धर्मावलम्बीको पवित्र भूमिको रूपमा रहेको मान्दै आए पनि ओटोमन साम्राज्यले नियन्त्रणमा लिएपछि यो भूमि विभिन्न धर्म र सम्प्रदायका व्यक्ति तथा समूहले कब्जा गरेपछि विवादास्पद बन्दै आएको छ ।
मध्यपूर्वमा ओटोमन साम्राज्य पतन भएपश्चात् सो भूमिलाई बेलायतले आफ्नो नियन्त्रणमा राखेको थियो । यो क्षेत्रलाई बेलायतले सन् १९१८ देखि १९४८ सम्म आफ्नो नियन्त्रणमा राख्न सफल भएको थियो । दोस्रो विश्वयुद्धका बेला हिटलरले युरोपभरका झन्डै ६० लाख यहुदीलाई मारेपछि बाँकी रहेका यहुदीले आफ्नो छुट्टै राज्यको माग गरे । त्यसैले विश्वभर आफ्नो साम्राज्य फैलाउँदै आएको बेलायतले प्यालेस्टाइनमा यहुदीहरूको राज्य खडा गरिदिएपछि यो भूमि विवादमा पर्न सुरु भएको थियो ।
हुन त इजरायल र प्यालेस्टाइनबीचको द्वन्द्व नयाँ होइन । २० औँ शताब्दीको प्रारम्भदेखि नै सुरु भएको युद्धले लाखौँ मानिसको ज्यान गइसक्दा पनि यो समस्याको समाधान हुन सकेको देखिँदैन । बेलायती साम्राज्यले आफ्नो भूमिमा यहुदीहरूको राज्य स्थापना गरिदिएको भन्दै प्यालेस्टाइनहरुले उनीहरुविरुद्ध दशकौँदेखि युद्ध गर्दै आएका छन् । सन् १९४८ जुन १४ मा यहुदीहरूले इजरायल देश भनेर छुट्टै राज्य घोषणा गरेपछि अहिलेसम्म पनि दुई मुलुकबिच युद्ध हुँदै आएको छ । आफ्नो भूमिका लागि भन्दै प्यालेस्टाइनहरुले सन् १९८७ मा हमास नामको सङ्गठन खोलेर इजरायलविरुद्ध युद्ध गर्दै आएका छन् । प्यालेस्टाइन क्षेत्रबाट इजरायललाई हटाउनुपर्दछ भनेर आन्दोलन छेडेपछि यो मध्यपूर्वको एउटा समस्याको रूपमा खडा भएको थियो । हिटलरले आफ्ना ६० लाखभन्दा बढी यहुदीको हत्या गरेपछि क्रुद्ध बनेका यहुदीहरूले इजरायल कब्जा गरेपछि उनीहरूले आफूहरूलाई क्रूर शासकको पहिचान दिँदै आएका थिए ।
संयुक्त राष्ट्रसंघले इजरायल र प्यालेस्टाइनबीचको युद्ध रोक्न सन् १९५० देखि नै सो इलाकामा शान्ति सेना खटाउँदै आएको छ । त्यसका बाबजुद पनि दुई मुलुकबिच पटक–पटक युद्ध हुँदै आएको छ । युद्धले प्यालेस्टाइन जर्जर बन्दै गएको छ भने इजरायल शक्तिशाली बन्दै गएको छ । उसले विश्वमा नै कृषि र हतियारको क्षेत्रमा आफूलाई अब्बल बनाउँदै लगेको छ । त्यसैले पनि विश्वभरबाट इजरायलमा कामको खोजीमा पुग्ने गरेका छन् । आफ्नो गुमेको भूमि फिर्ता गर्ने उद्देश्यले गठन भएको हमासलाई विश्वका शक्तिशाली देशले आतङ्ककारी सङ्गठन भनी उनीहरूको गतिविधिमा रोक लगाउनुपर्ने बताउँदै आए पनि अहिलेसम्म यो सङ्गठनलाई कसैले केही गर्न सकेको देखिँदैन । सन् १९८८ मा हमासले इजरायल र यहुदीका सम्बन्धमा जारी गरेको बडापत्रमा यहुदी समुदाय र इजरायललाई पूर्णरुपमा नष्ट गरेर मात्रै हमासको मृत्यु हुने बताएपछि त्यस क्षेत्रमा थप जटिलता उत्पन्न भएको थियो । सोही संगठनले इजरायलमा गरेको आक्रमणका कारण १० नेपाली विद्यार्थीले ज्यान गुमाउनु परेको तितो यथार्थले नेपाली हरूलाई मात्र नभएर विश्वकै ध्यानाकर्षण गराएको छ । उक्त आततायी घटनाको जतिसुकै निन्दा गरेपनि सकिदैन् । युद्ध र द्वन्द्व आफैमा राम्रो कुरा त होइन । सबै पक्षबाट यसलाई रोक्ने प्रयास गर्नु जरुरी छ । जुनसुकै समस्याको समाधान पनि वार्तामार्फत मात्र सम्भव हुने भएकाले यथाशीघ्र वार्ताको लागि प्रयास होस यही छ हाम्रो पनि कामना ।