कोशीमा अन्यौलता कायमै

मुख्य मन्त्रीका रूपमा विजया दशमी मान्ने सौभाग्य पाएका कोशी प्रदेशका सांसद केदार कार्की मुख्यमन्त्री नियुक्त भएपछि गठबन्धनविरुद्ध गठबन्धन सत्ताको नयाँ खेल सुरु भएको छ । यसअघि मुख्यमन्त्री नियुक्त गर्ने र विश्वासको मत लिँदा हुनजाने बाधा र त्रुटिका कारण फेरि अर्को नयाँ मुख्यमन्त्री चयन गरिने प्रक्रियाले गोलचक्कर मारिरहँदा यसपटक भने त्यो गोलचक्कर पार भएको अनुभूति सबैलाई हुन गएको छ । एमालेका प्रदेश सांसदहरूको समर्थनसहित नेपाली काँग्रेसका डा. शेखर कोइराला समूहका ९ सांसदको हस्ताक्षरमा केदार कार्की मुख्यमन्त्री बनेपछि अब मुलुकमा सरकार गठनका नयाँ चक्र अघिबढ्दै जाने त होइनन् ? भन्ने अनुमान पनि बढेर गएको छ । यसअघिको सत्ताधारी गठबन्धन र प्रतिपक्षको रस्साकस्सी यसपटक टुङ्गोमा पुगेको छ । यो नयाँ अभ्यासले सत्ताधारी गठबन्धन र त्यहाँभित्रको ठुलो दल नेपाली काँग्रेसलाई सोचनीय अवस्थामा पु¥याएको छ ।
नेपाली काँग्रेस यसपटकको आवधिक निर्वाचनपछिको सबैभन्दा ठुलो दल हो । तर, यसले सरकार गठन गर्न सुरुका दिनमा पहल गरे पनि पछि भने माओवादी केन्द्रको नेतृत्व स्वीकार गरेर अघि बढिरहेको छ । यसको संस्थापन पक्षले सरकार गठन गर्ने कुरा अहिले बिर्सिइसकेको छ । आवधिक निर्वाचनबाट ठुलो दल बन्न पुग्नु तर सरकार गठनमा पहल लिन आँट नगर्नुको अन्तर्विरोधले नेपाली काँग्रेसलाई आन्तरिक द्वन्द्वतिर घिसारिरहेको छ । यसको विद्रोहात्मक अभिव्यक्ति कोशी प्रदेशमा गएर भएको छ । पटकपटक मुख्यमन्त्री नियुक्त हुने र विश्वासको मतको सङ्कट परिरहने अवस्था अबका दिनमा टरिसकेको छ । कोशी प्रदेशको संकटमोचन नेपाली काँग्रेसको आन्तरिक संकटका रूपमा उदाएको छ ।
हेर्दा निकै सामान्य रूपमा अभिव्यक्त यस परिघटनाले सरकार र सरकार गठनमा केही ठूला हेरफेर अवश्य नै ल्याउने देखिएको छ । अहिले काँग्रेसमा देखिएको बहस र विवादमा पनि केही जटिलता देखापरिरहेको छ । काँग्रेसका महामन्त्री गगन थापाले नेपाली काँग्रेस माओवादीकरण पनि हुनुहुँदैन र एमालेकरण पनि हुनुहुँदैन भनी गरेको टिप्पणी यथार्थ छ । नेपाली काँग्रेस संसद्मा सबैभन्दा ठुलो दल हुनु तर सरकार गठनको पहलमा असफल रहनु नै कोशी परिघटनाको पृष्ठभूमि हो । यसमा सत्ताधारी गठबन्धनका नेपाली काँग्रेस र माओवादी केन्द्रका बिच चलेको खटपटले पनि धेरै काम गरेको कुरा बिर्सनुहुँदैन । दुई पार्टीबिचको खिचातानीमा आफ्नै पार्टी नेपाली काँग्रेसको पूर्व र पश्चिमको राजनीति बुझ्न नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा असफल रहे । जसले आफ्नै पार्टीको सत्ता गठबन्धनविरुद्ध अर्को सत्ता गठबन्धन निम्त्याउन पुग्यो । यसले राजनीतिको भविष्य अझै अन्योलमा परेको छ ।समाज रूपान्तरणसँगै सचेतना जरुरी
पछिल्लोपटक मुगुमा एकै परिवारका आमा, दुई छोरा र एक छोरीसहित चार जनाको हत्या हुन गएपछि नेपाली सामाज अपराधीकरणतिर अघि बढिरहेको त छैन भन्ने प्रश्न गम्भीर रूपमा उठिसकेको छ । घटना घट्छन्, तिनको खोज र अनुसन्धान हुन्छ दोषीमाथि कारबाही हुन्छ । तर, पनि फेरि उस्तै प्रकृतिका घटना घटिनै रहेका छन् । यस खालका घटना घट्नुको मूल कारण खोज्नु जरुरी छ । यस खालका घटना परिवर्तित स्वरूप लिएर देखापर्ने गर्छन् । नेपालमा माओवादी सशस्त्र युद्ध र जनआन्दोलन–२ पछि नेपाली समाज सामन्तवादी ‘बन्द ढर्रा’बाट पुँजीवादी ढर्रामा प्रवेश गरिरहेको छ । यो स्वाभाविक रूपमा पहिलेको भन्दा केही बढी खुकुलो र व्यक्तिगत अधिकारलाई प्राथमिकता दिने प्रकृतिको छ ।
पुरानो फ्याँकिने र नयाँ अवलम्बन गरिने प्रक्रियाका बिचमा प्रशस्तै र डरलाग्दा कमीकमजोरी, रिक्तता र अज्ञानता रहेका छन् । राज्यसत्ता र सरकारले सचेत सामाजिक रूपान्तरणको नीति र योजना बनाएकै छैनन् । नेपाली सामाजिक व्यवस्था अस्वाभाविक र बिना नीतियोजना रूपान्तरणको यो उतारचढावपूर्ण प्रक्रियामा दलाल र दलाली प्रक्रियाले ‘उत्तेजक’को काम गरिरहेका छन् । जनताका हातहातमा थमाइएका, घरघरमा पु¥याइएका प्राविधिक यन्त्र तथा साधन प्रयोग गर्दा त्यसबाट रूपान्तरणको प्रक्रियामा हेलिएको नेपाली समाज, नेपाली जनता र नेपाली मनोविज्ञानमा के कति असर पार्ला भन्ने कुरालाई गम्भीरताका साथ लिइएको छैन । जनताका हातहातमा मोबाइल फोन छन् । प्रविधि विकास र प्रयोगका हिसाले यसले क्रमभंगता ल्याएको छ । यसले पार्न सक्ने असरप्रति नेपाली जनता सचेत र जानकार नै छैनन् ।
सार्वजनिक बसमा बानी नपरेको नेपाली समाज मोटरसाइकल र कार तथा भ्यानमा हुँइकिन थालेको छ । बजारीकरण बढ्दो छ । वैदेशिक रोजगारका बाटा खुलेका छन् । तथापि, सिंगो समाज अभाव र महँगीले ग्रस्त बनिरहेको छ । यस्तो बेलामा निर्माण हुने इच्छा, बाध्यता र छपटाहटबिच खोजिने द्रुत र गैरकानुनी निकासको परिणामस्वरूप जघन्य घटना घट्ने गरिरहेका हुन्छन् । दलको चाहना र उद्देश्य सिन्डिकेट र गठबन्धन निर्माण गरेर भए पनि सत्तारूढ भइरहने तर आचार, विचार र नैतिकतालाई तिलाञ्जली दिने, व्यापारी तथा व्यवसायीको उद्देश्य जसरी पनि मुनाफा कुम्ल्याउने र रातारात करोडपति हुने, प्रशासन ठाडो आदेश र कुर्सी आसीनको मर्जीमा चल्ने, जनता अभिभावकविहीन हुने र छाडा भएर परदेश दौडाहमा कुद्ने, दलाल, तस्कर तथा माफियाले मनमौजी खेल खेल्ने हुन थालेपछि संक्रमणकालीन नेपाली समाजको हबिगत कस्तो होला ? देशको दूरदराजमा घटिरहेका हत्याका घटनाले जो कोहिलाई पनि पीडा दिंने गर्छ । यसको न्युनिकरणका लागि सचेतनाका कार्यक्रम घरदैलोका रूपमा पु¥याउन राज्यले ढिलाई गर्नु हुँदैन् ।