जीवित श्रीमानको मृत्यु दर्ता गरी भत्ता लिने महिला र सचिवविरुद्ध मुद्धा दायर

काठमाडौँ । रामेछाप जिल्लाको मन्थली नगरपालिकामा श्रीमान् जीवितै हुँदै श्रीमानको मृत्यु दर्ताको किर्ते कागज बनाई एकल महिला भत्ता खाने श्रीमती र भत्ता खाने कागज बनाउन भूमिका खेल्ने सचिव विरुद्ध मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रवार विशेष अदालत काठमाडौँमा उनीहरू विरुद्ध मुद्दा दायर गरेको आयोगका प्रवक्ता भोला दाहालले विज्ञप्ति सार्वजनिक गरेका थिए ।
विज्ञप्तिका अनुसार मन्थली नगरपालिका वडा नं ३ कठजोरका तत्कालीन वडा सचिव शिवकुमार महत्तो र एकल महिला भत्ता खान कागज तयार पार्ने निर्मला खत्री विरुद्ध मुद्दा दायर गरिएको छ ।
मिलेमतोमा खत्रीको जीवित श्रीमान्को मृत्यु भएको भनी निर्मला खत्रीबाट सूचना लिई बदनियत पूर्वक आधिकारिकता कुनै छानबिन नगरी, कानुन बमोजिम कागजातहरू समेत संलग्न नराखी निर्मला खत्रीको सामाजिक सुरक्षा भत्ता (एकल महिला) परिचय पत्र बनाउन, मृत्युको सूचना फारम भरी जीवित व्यक्तिलाई मृत्यु भएको भनी गलत लिखित तयार गरी, मृत्यु दर्ता अभिलेख तयार पारी एकल महिला परिचय पत्र बनाई रु ४५ हजार २ सय २० रुपैयाँ सरकारलाई हानी नोक्सानी’ गरेको विज्ञप्तिमा उल्लेख छ ।
आरोपी सचिव महतो र खत्रीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कसुर गरेको पुष्टि भएको ठहर गर्दै सोही बमोजिम कैद सजाय र बिगो असुल उपर हुनु पर्ने माग अख्तियारले गरेको छ ।
शिव कुमार महतोले जीवित व्यक्तिको मृत्यु भएको भनी कार्यालयमा रहेको मृत्यु दर्ता अभिलेख चढाएको र निर्मला खत्रीको सामाजिक सुरक्षा भत्ता (एकल महिला) परिचय पत्रको गलत लिखत तयार गरी गराई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिमको कसुरसमेत गरेकोले सोही ऐनको दफा ९ बमोजिम सजाय हुन र प्रतिवादी निर्मला खत्रीलाई मुख्य कसुरदार शिव कुमार महतोले गरेको भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिमको कसुरजन्य कार्यमा मतियार भई सोही ऐनको दफा २२ बमोजिम कसुर गरेकोमा मुख्य कसुरदार शिव कुमार महतोलाई सोही ऐनको दफा ९ बमोजिम हुने सजायलाई आधार मानी सोही ऐनको दफा २२ प्रतिबन्धात्मक वाक्यांश बमोजिम मुख्य कसुरदारलाई हुने सजाय सरह सजाय हुन मागदाबी लिई विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
मन्थली नगरपालिका वडा नं ३ बस्ने रामबाबु खत्रीको मृत्यु प्रमाणपत्र बनाएर श्रीमती निर्मला खत्रीले एकल महिला भत्ता खाएकी थिइन्।
रामबाबु खत्री जिल्ला कारागार रामेछापमा कार्यरत थिए। श्रीमतीलाई भत्ता खुवाएको पत्ता लागेपछि कारबाही हुने डरले खत्री जिल्ला प्रशासन कार्यालयबाट जिल्ला कारागार सरुवा भएका थिए। त्यसको केही समयमै उनले जागिरबाट राजीनामा समेत दिए।
तत्कालीन वडा सचिव शिवकुमार महतोले २०७८ साल भदौ २१ गते नै निर्मला खत्रीको बिधुवा भत्ताको परिचयपत्र सोही दिनदेखि लागू हुनेगरि बनाइदिएका थिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button