नजरबन्दबाट उम्किए दुर्गा प्रसाईं, प्रहरीको स्कर्टिङमा पुर्याईयो सिफल
काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाऊ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईं सिफल पुगेका छन् ।
शुक्रबार भक्तपुरस्थित आफ्नो निवासबाट निस्कन नपाएका प्रसाईं शनिबार भने विरोध कार्यक्रममा आफ्ना समर्थकहरूलाई सम्बोधन गर्न पुगेका हुन् । उनलाई नेपाल प्रहरीले स्कर्टिङ गरेर सिफल पुर्याईएको हो ।
प्रसाईंले तेस्रो दिनको आन्दोलन काठमाडौँको गौशाला नजिक सिफल चौरमा गरिरहेछन् । कार्यक्रम स्थलमा बाक्लो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ । सिफल क्षेत्रका घरका कौसी, छतमा सशस्त्र प्रहरी बसेका छन् ।
सिफल आसपासको क्षेत्र गौशाला, जयबागेश्वरी, चावाहिल, कालोपुल क्षेत्रमा ठुलो सङ्ख्यामा दङ्गा नियन्त्रक प्रहरी, सशस्त्र प्रहरी, नेपाल प्रहरी बाक्लो सङ्ख्यामा परिचालन गरिएको छ ।
शुक्रवार तीनकुनेमा आन्दोलन गर्ने प्रसाईँ समूहको तयारी थियो । तर उनलाई घरमा नै नजरबन्द गरियो । उनलाई नजरबन्दमा राखेपछि सरकारको चर्को आलोचना भएको थियो । स्थानीय प्रशासन, सुरक्षा निकाय र प्रसाईं समूहबीच हिजो साँझ शान्तिपूर्ण प्रदर्शन गर्ने, सरकारले अनुमति दिएको ठाउँमा मात्रै आन्दोलन गर्ने सहमति भएको थियो । सो सहमतिपछि प्रसाईंलाई नजरबन्दबाट मुक्त गरिएको हो ।