‘अहिलेको बजेटले देशमा दुर्गति निम्त्यायो’ : ओली
रामेछाप । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले ल्याएको बजेटले देशमा दुर्गति निम्तिएको बताएका छन् । झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको क्रममा सोमबार साँझ रामेछापको मन्थलीमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारले ल्याएको बजेटले देशलाई अधोगतितिर धकेल्ने बाहेक केही काम नगरेको बताएका हुन् ।
उनले भने, हरेक पटक नीति कार्यक्रमको बहस हुँदा हामीले यो उपयुक्त छैन भनेका छौँ, यो कार्यान्वयन पनि हुँदैन, अर्को तिर हरेक पटक बजेट लेख्दा, बजेट प्रस्तुत गर्दा हामीले संसदमा आवाज उठाएका छौँ, बाहिर आवाज उठाएका छौँ, यो बजेटले देशको दुर्गति गर्ने, अधोगतितिर धकेल्ने बाहेक केही गर्दैन, यस्ले देशको विकासलाई अगाडी बढाउन सक्दैन, तर सरकार त्यस्मा तयार छैन ।
उनले भने अहिले देशमा अर्थतन्त्र ओरालो लागेको छ, राजनीतिमा अस्थिरता अन्यौलता छाएको छ, जनतामा निराशा छाएको छ, युवाहरू विदेशिने क्रम बढ्दो छ, अनि हाम्रो देश हामीले नबनाए कसले बनाउँछ रु युवाहरूलाई हामीले नराखे कसले राख्छ रु
सम्बोधनकै क्रममा ओलीले आफ्नै देशमा हरेक कुराको सम्भावना रहेको बताएका छन् । युवावर्गलाई लक्षित गर्दै ओलीले भने, रोजगारी खोज्ने मात्र होइन, रोजगारीको सिर्जना गरौँ, उद्यमशीलतामा विकास गरौँ, । ओलीले युवाहरूलाई सामूहिक रूपमा विकासका कामको सुरुवात गर्न समेत आग्रह गरे ।
ओलीले गठबन्धनमा देशभक्तिको थोपो छिट्टो नभएको आरोप लगाए । उनले भने, देशको पक्षमा बोल्न नसक्ने यस्तो नालायक सरकार हुँदा अप्ठ्यारो नभए कहिले हुन्छ रु राष्ट्रिय शक्ति एमाले रहेको बताउँदै अहिलेको गठबन्धनमा केही गर्न सक्ने आँट नभएको बताउँदै उनले भने, राष्ट्रिय शक्ति सरकारमा छैन, गठबन्धनको केही गर्ने हुत्ती छैन।,
देश विदेशका सबै शक्ति एकजुट भएर नेकपा एमालेलाई हुँडारले जस्तो आक्रमण गर्दा पनि कार्यकर्ताले जोगाएको भन्दै ओलीले धन्यवाद दिए । नेकपा एमालेलाई बचाउने मात्र होइन देशको सबैभन्दा लोकप्रिय पार्टीको रूपमा उठाएको भन्दै ओलीले कार्यकर्ता प्रति आभार प्रकट गरे । ‘बाघको छाला लगाएका तर स्याल, त्यस्ताले पार्टी सिद्ध्याउन खोज, हामीलाई त पार्टीको साधारण सदस्यबाट नै निकालिदिए’, ओलीले भने ।
एमाले प्रमुख पार्टी भएर मात्र नपुगेको ओलीले बताए । प्रमुख पार्टी हुनको लागि, सरकारमा जानको लागि वा मन्त्री हुनको लागि मात्र नेकपा एमाले नबनेको उनको भनाई थियो । गठबन्धनले राष्ट्रियताको संरक्षण र विकास गर्छ भन्ने कुरा सोच्दै नसोचे हुने हुने ओलीले बताए । सरकार कर्मचारीलाई तलब खुवाउन समेत ऋण काढ्ने अवस्थामा पुगेको उनको भनाइ छ ।
सरकार एयरपोर्टबाटै क्विन्टलका क्विन्टल सुन तस्करीमा लागेको ओलीले बताए । यस्तो खालको सरकारले देश चलाउँछ ? अहिले देश ओरालोमा चलेको स्टार्ट नभएको गाडी जस्तो भएको छ’, ओलीले भने । अहिले देशको लागि सुदृढ राष्ट्रिय शक्ति आवश्यक रहेको ओलीले बताए । त्यसकै लागि नेकपा एमालेले यो अभियान चलाएको उनले स्पष्ट पारे ।
मध्यपहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटन लगायतको सम्भावना बुझ्न एमाले अध्यक्ष ओलीको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, सचिवहरू, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी सदस्यहरू, प्रदेश कमिटी लगायतका नेताहरू, प्राविधिक, विज्ञ सम्मिलित टोली सहित समृद्धिको लागि संकल्प यात्रामा छन् । बैतडीको झुलाघाटमबाट मङ्सिर १४ गतेदेखि सुरु भएको यात्रा पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुग्ने कार्यक्रम रहेको छ ।
नेकपा (एमाले) रामेछापले कृषि क्षेत्रमा रहेर व्यावसायिक रूपमा व्यवसाय गर्ने उत्कृष्ट ९ जना लाई सम्मान गरेको छ । निर्माण हुँदै गरेको मध्य पहाडी पुष्पलाल लोक मार्गको तस्बिर सम्झनाको स्वरूप चिनो जिल्ला पार्टी अध्यक्ष आनन्द श्रेष्ठले ओली लाई प्रदान गरे ।