राहत वितरणमा सुगम केन्द्रित हुँदा दुर्गमका भूकम्प पीडित समस्यामा
जाजरकोट । गत कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट जनधनको क्षति भएका ठाउँमा सहयोगका लागि गरिएका प्रयास सजिलो ठाउँमा बढी केन्द्रित भएको आरोप लागेको छ ।
दुर्गमभन्दा सुगममा मात्र सहयोगी निकाय केन्द्रित भएको बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले बताए । सबैभन्दा बढी चिसो तथा दुर्गम पालिका बारेकोट भए पनि राहत वितरण तथा अस्थायी आवास निर्माणमा समेत पक्षपात भएको अध्यक्ष गिरीको आरोप छ । भूकम्पको केन्द्रबिन्दु बारेकोट-१ रामीडाँडामा रहेको थियो ।
मानवीय क्षति नभए पनि भौतिक क्षति बारेकोटमा व्यापक भएको जनाउँदै गिरीले राहत वितरण कार्य सुगममा मात्र केन्द्रित हुँदा आफूहरु पीडित भएको बताए । उनका अनुसार अधिकांश पीडित त्रिपालभन्दा बाहिर छन् । राज्यबाटसमेत राहत वितरणमा बारेकोटलाई भेदभाव गरिएको उनको आरोप छ ।
वर्षायाम लाग्नेबित्तिकै बारेकोटमा ठूलो समस्या आउने उनको भनाई छ । पाँच हजार पाँच सय ८६ अस्थायी टहरा निर्माण गर्नुपर्नेमा बारेकोटमा हालसम्म एक सय ५० मात्र निर्माण भएका छन् ।
उनका अनुसार आर्थिकरुपमा कमाउन जाने जनशक्ति अस्थायी आवास निर्माणको कामदेखि अन्य काममा लाग्दा घरको आर्थिक भार कसरी समाधान होला भन्ने ठूलो चिन्ता बढेको छ । विद्यालय सञ्चालन गर्नका लागि टेन्ट ल्याएर राखिएको भए पनि त्यसमा प्रयोग हुने अन्य सामान नहुँदा समस्या भएको अध्यक्ष गिरीले बताए ।
भूकम्प गएको ४५ दिन पूरा हुँदासम्म अस्थायी आवासदेखि विद्यालयमा अस्थायी संरचना निर्माण हुन नसक्नु विडम्बना भएको पीडितहरु बताउँछन् ।