किन रोकियो काँग्रेस महासमितिको निर्वाचन?

रामेछाप । गत मंसिर १७ गते बिपी स्मृति भवन मन्थलीमा बसेको नेपाली काँग्रेस जिल्ला कार्यक्रम समिति र महाधिवेशन प्रतिनिधि सहितको बैठकमा मंसिर २३ गतेदेखि महासमिति निर्वाचनको कार्यक्रम अगाडि बढाउने सहमति गरेको थियो । सोही अनुरूप काँग्रेस रामेछापका सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) र पूर्व सभापति रामचन्द्र खड्काको छुट्टाछुट्टै टिमले महासमिति निर्वाचनको लागि छुट्टाछुट्टै उम्मेदवारी दर्ता गरेका थिए ।
सोही बैठकले पुसको २ गतेसम्म उम्मेदवारी फिर्ता लिने समय समेत तोकेको थियो । तर पौष १ गते बेलुका नै निर्वाचन समितिले अर्को सूचना जारी नहुञ्जेलका लागि निर्वाचन स्थगित गरेको सूचना निकाल्यो ।
नेपाली कॉंग्रेस जिल्ला कार्यसमिति, रामेछापको पत्रानुसार नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको निर्णयले महासमिति सदस्यको बैठक मिति २०८० साल फागुन महिनामा हुने गरी तय गरेको साथै नेपाली काँग्रेस रामेछापका सभापति माननीय पूर्ण बहादुर तामाङ (कान्छाराम) ज्यूको स्वास्थ्यमा समेत समस्या आएर उपचाररत रहनु भएको भन्ने लिखित जानकारी निर्वाचन समितिलाई प्राप्त भएकाले उहाँको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै महासमिति सदस्य पदको निर्वाचनकोलागि मिति २०८०÷०८÷२३ गते प्रकाशित निर्वाचन कार्यतालिका अनुसार २०८० साल पुस ६ गते मतदान मिति तय गरिएकोमा सो कार्यक्रम स्थगन गरी महासमिति सदस्य पदको मनोनयन पत्र फिर्ता लिने, अन्तिम नामावली प्रकाशन र मतदान हुने मिति, समय र आज उप्रान्तका बाँकी निर्वाचनका सबै प्रक्रियाहरू अर्को मिति तय नहुन्जेलसम्मका लागि स्थगित गरिएको ब्यहोरा सरोकारवालाहरू सबैको जानकारीका लागि अनुरोध छ– निर्वाचन अधिकृत लक्ष्मणकुमार घिमिरेको हस्ताक्षर भएको सूचनामा भनिएको छ ।
उम्मेदवारहरुबीचमा समझदारी गराएर सकभर सर्वसम्मतिले महासमिति सदस्यहरू चयन गर्न ,केन्द्रले महासमितिको बैठक फागुन सम्म सारेको हुँदा त्यै समयसँग तालमेल गराउन साथै नेपाली काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले २०८० पुस १६ गते देखि माघ १६ गते सम्म “समुदायमा नेपाली काँग्रेस अभियान“ संचालन गर्नको लागि महासमिति सदस्यको निर्वाचन हाललाई स्थगित गरिएको रामेछाप काँग्रेसका उपसभापती लेखबहादुर कार्कीको भनाई छ । उनले भने – यो पार्टीको आन्तरिक निर्वाचन हो । आन्तरिक निर्वाचनमा यी कुरा स्वाभाविक हो ।
तर काँग्रेस रामेछापका सचिवले भने यसमा आफ्नो आपत्ति रहेको बताएका छन् । उनले भने– नेपाली काँग्रेस जिल्ला कार्यसमिति रामेछापको पूर्ण बैठकले निर्णय गरी महासमिति सदस्य निर्वाचन तोकिएकोमा हाल बिना जानकारी स्थगित गरिनु सरासर गलत हो । निर्वाचन समितिले काँग्रेस रामेछाप जिल्ला कार्य समिति सँग छलफल गर्नु पर्थ्यो । यसरी मनखुसी निर्णय गरेर निर्वाचन रोक्न हुँदैन थियो।
रामेछाप काँग्रेसले पौष ३ गतेका लागि बोलाएको बैठक भने स्थगित गरिएको छैन । नेपाली काँग्रेस जिल्ला कार्यसमिति रामेछापको पुस महिनाको मासिक नियमित बैठक पुस ०३ गते बस्ने भनि जिल्ला कार्यसमितिका पदाधिकारी सदस्यहरू र संघीय महाधिवेशन प्रतिनिधिहरूलाई समेत बैठकमा बोलाएको छ ।
नियमित बैठक नरोकिनु र महासमितिको निर्वाचन मात्र रोकिनुले महासमितिको निर्वाचनलाई शंकाको घेरामा उभ्याएको छ ।



