क्रान्ति सकिएको छैन, क्रान्तिको स्वरूप फेरिएको छ – प्रधानमन्त्री
रामेछाप । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जिल्लाको सुनापति बेथान पानीघाटमा आयोजित कार्यक्रममा जनयुद्धको शान्तिपूर्ण रूपान्तरणसँगै क्रान्तिको स्वरूप फेरिएको बताए । हामी अहिले पनि क्रान्तिमै छौँ, हाम्रो क्रान्ति सकिएको छैन, तर क्रान्तिको स्वरूप फेरिएको छ – प्रधानमन्त्री दाहालले भने ।
बेथान वीरता दिवस, शहीद स्तम्भ उद्घाटन तथा शहीद परिवार सम्मान कार्यक्रममा प्रधानमन्त्री दाहालले बेथानका शहीद तीर्थ गौतम, फत्तबहादुर स्माली मगर र दिलमाया बम्जनका परिवारजनलाई सम्मान गरे ।
नेपाल र भारतबिचको बिजुली निर्यातसम्बन्धी दीर्घकालीन सम्झौता विद्युत् व्यापारका दृष्टिले कोशेढुङ्गा भएको प्रधानमन्त्री दाहालले बताए । वीरता दिवस तथा सुनापती गाउँपालिकाको प्रशासकीय भवन उद्घाटनमा पुगेका प्रधानमन्त्रीले भारतीय विदेशमन्त्री एस जयशंकरसँगको भेटपछि नेपालको विद्युत् निर्यातको ग्यारेन्टी भएको बताएका हुन् । प्रधानमन्त्री दाहालले १० हजार मेगावाट विद्युत् निर्यातको ग्यारेन्टी भएको बताएका छन् ।
उनले भने –यो सम्झौताले भारतमा मात्रै होइन, बङ्गलादेशमासमेत विद्युत् निर्यातको ढोका खुलेको छ । अब भारतको ग्रिड प्रयोग गरी नेपालको विद्युत् बङ्गलादेशलाई बेच्न सकिन्छ।
प्रधानमन्त्री दाहालले सुनापति गाउँपालिकाले भौतिक विकासमा राम्रो प्रगति गरेको उल्लेख गर्दै सेवा प्रवाह, शिक्षा, स्वास्थ्यको विकास, कृषि, पर्यटनको प्रवर्द्धन र रोजगारी सिर्जनामा केन्द्रित हुन जनप्रतिनिधिलाई अपिल गरे ।