भविष्य सोचेर चिन्तित छन् माझी समुदाय

रामेछाप । सुनकोशी मरिण बहुउद्देश्यीय डाइभर्सन परियोजनाको सुरुङ वैशाख २६ गते छिचोलिँदै छ । वैशाख २६ मा सुरुङ छिचोलेर सुरुङ ‘ब्रेक थ्रू’का लागि प्रधानमन्त्रीसहित विशिष्ट व्यक्तिहरूलाई आयोजना स्थलमा उतार्ने अभियानको चाँजोपाँजो मिलाउने दौडधुपमा छन् आयोजना प्रमुख मित्र बराल। आयोजना प्रमुख बराललाई सुरुङ ‘ब्रेक थ्रू’ गर्ने भन्दा अरू कुनै कुरामा वास्ता छैन ।
मन्थली नगरपालिका वडा नम्बर ६ (भलुवाजोर) सेलेघाट, हात्तीटार, नबुघाट, कुनौरीसहित आसपासका माझी उब्जनी हुने खेतका फाँट रहला कि नरहला भन्ने चिन्तामा छन् । यो सँगै उनीहरूलाई आफ्नो थाकथलो नै छोड्नुपर्ने हो कि भन्ने चिन्ताले पिरोलेको छ ।
हिउँद याममा उजाड देखिने वरपरका डाँडाकाँडा बाह्रै महिना हरियाली बनाइदिने आश्वासन परियोजनाले दिएको स्थानीय डम्बर बहादुर माझी बताउँछन् । हुन त आयोजनाले वासस्थान नरहला भन्ने चिन्ता नगर्न पनि भनेको उनी थप्छन् । आश्वासनले मात्र कहाँ हुँदो रहेछ र, आफ्नो पुर्ख्यौली थलो सदाका लागी माया मार्नु पर्ने होकि भन्ने चिन्ता त लाग्ने नै रहेछ । तामाकोशी र सुनकोशी नदीको संगमलस्थलमै सुनकोशी नदीलाई थुनेर १३.३ किलोमिटर लामो सुरुङ खनेर डाँडो छिचोलेर सुनकोशीको पानीलाई मरिण नदीमा खसाल्न खुर्कोट नजिकै १२ मिटर अग्लो ब्यारेज बनाइँदैछ । यसपछि हात्तिटार फाँट डुब्छ कि भन्ने त्रासले आफूहरू निदाउन सकेको छैन । डम्बरले थपे ।
भविष्यप्रतिको चिन्ता जाहेर गरिरहँदा केवल अन्नको जोहो र बस्ने बासको मात्रै कुरा छैन, प्रकृति पूजक माझी समुदायलाई संस्कृति नै सङ्कटमा पर्ने हो कि भन्ने चिन्ताले पनि पोलिरहेको छ उनीहरूलाई । ‘नदीसँग माझी समुदायको छुट्टै सम्बन्ध छ, प्रकृतिका पुजारी माझी समुदायले कोशी पूजा (लदी पूजा) गर्छन्, यहीँ क्षेत्रमा विभिन्न घाट तथा दोभानहरू छन् । यी भनेका माझी समुदायको रीतिरिवाज र संस्कृतिसँग जोडिएका विषय हुन् । यसको व्यवस्थित संरक्षण हुन जरुरी छ ।’ स्थानीय तिलक माझी भने ।
हुन त माझी समुदायले उपभोग गर्दै आएको सो क्षेत्रको जमिनलाई उकास गर्ने विषय आयोजनाको गुरुयोजनामै समेटेको छ । ‘डुबानमा पर्ने जग्गा सुधारका साथै हात्तिटारस्थित २७ हेक्टर जग्गा उकास गरी वर्षौँ देखि भोगचलन गर्दै आएको माझी समुदायलाई नै हस्तान्तरण गर्ने कार्यले अल्पसङ्ख्यक तथा सीमान्तकृत समुदायको उत्थानमा सहयोग पुग्ने छ’ आयोजनाको सार्वजनिक प्रकाशनमा भनिएको छ ।
तर, हात्तिटार र सेलेघाटबासीहरुले यसको कार्यान्वयनमा शङ्का व्यक्त गरिरहेका छन् । उत्पादन हुने जमिन मासिने भएपछि थाकथलो छोडेर माझी समुदाय त्यहाँबाट विस्थापित हुनुपर्ने हो कि भन्ने शङ्का लागेर आफूहरू निरन्तर खबरदारीमा रहेको तिलक माझी बताउँछन् ।
बेगिएर आएको तामाकोशीबाट जोगिएको धानबालीले जेनतेन परिवार पालिँदै आएको छ । उत्पादन हुने जमिन मासिनेवाला छ, आयोजनाले भनेजस्तो उकास गरेर खेतीयोग्य बनाउन समय लाग्ला, अहिले ब्यारेज बनाउने, पानी मरिणमा खसाल्ने तर्फ मात्रै काम भइरहेको छ, स्थानीय तिलक माझीले भने । उब्जाउ हुने जमिनको प्रबन्ध कसरी गर्ने भन्नेतर्फ अहिले नै परियोजनाले सोच्नुपर्ने हुन्छ, यस परियोजनाबाट प्राप्त हुने लाभमा यहीँका स्थानीयलाई प्राथमिकता दिइनुपर्छ । तिलक माझीले थपे ।
‘अहिले जहाँ खेती भइरहेको छ, त्यहाँको जमिनको सतहको माटो एक ठाउँमा थुपारेर खोलाको गेग्राङले जमिन उचालेर खेतीयोग्य जमिनलाई उकास गर्ने योजना मास्टर प्लानमै समावेश छ’, आयोजना प्रमुख मित्र बरालले भने । हामी मास्टर प्लानका साथ काम गर्छौँ । खेतीयोग्य जमिन पूर्ववत् अवस्थामै फकिन्छ । बरालले भने ।
सुनकोशी मरिण बहुउद्देश्यीय डाइभर्सन परियोजनाबाट रामेछाप र सिन्धुलीका ५ वटा गाउँ प्रभावित हुनेछन् । सिँचाइका लागि पानी लैजाँदा सिङ्गो माझी समुदाय र २ जिल्लाका ५ बस्तीले ब्यहार्ने नोक्सानीको भर्पाई हुने छनक नपाउँदा हात्तीटार र आसपासका माझी समुदाय चिन्तित छन् । उनीहरूले आयोजनाबाट उत्पादन हुने ३१.०७ मेगावाट बिजुलीमा पनि आफूहरूले हिस्सा पाउनुपर्ने बताएका छन् ।
विकास गर्दा विनाश हुने भए पनि एकातिरको विनाशले अर्कोतिर मात्रै लाभ दिने कुरा न्यायसङ्गत हुँदैन । ब्यारेजमा आधुनिक खालका डुङ्गा चलाउने, विशाल पोखरीहरू बनाएर बजारमा उल्लेख्य माग हुने खालका माछा पालन गर्ने, ‘रिभर बिच’को कन्सेप्टमा लगानी भित्र्याएर रोजगारीमा यहीँका समुदायलाई प्राथमिकता दिने जस्ता काम राज्यले परियोजनामा नीतिगत रूपमै व्यवस्था गर्नुपर्ने भलुवाजोरका समाजसेवी स्थानीय शङ्करबहादुर थापाले भने ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button