पुरै जन्ती किच्याउने चुचुरेको ढुङ्गा

रामेछाप । जिल्लाकोगोकुलगंगा गाउँपालिका वडा नं. १ चुचुरेको साङ्बाडाँडा सँगै रहेको ढुङ्गा ठूलो ढुङ्गा नामले परिचित छ । यो ढुङ्गा सम्भवतः यस पालिका भित्रकै साँच्चै नै ठूलो ढुङ्गा हो भने चुचुरे क्षेत्रको चाहिँ ठूलै ढुङ्गा भएको स्थानीयहरू बताउँछन् । यस ढुङ्गामा १ हजार ८ बौद्ध धर्मका लामा गुरुहरूले उच्चारण गर्ने मन्त्रहरू कुँदिएका छन् । करिब २ सय मिटर भन्दा बढी गोलाई रहेको यो ढुङ्गाको वजन कति छ ? भनेर सिधा आँखाले अनुमान लगाउन सकिँदैन । हेर्दा साँच्चै अजङ्गको ढुङ्गा देखिन्छ । यस ढुङ्गामा कुँदिएका लामा मन्त्रहरू सामान्य मान्छेले पढ्न सक्ने खालका छैनन् ।
यस ढुङ्गाको बारेमा निकै रोचक किंवदन्ती भएको स्थानीय होमप्रसाद दाहाल बताउँछन् । दाहालले पनि यस ढुङ्गाको किंवदन्तीलाई सुनेको आधारमा आफूले सुनाउन सकेको बताए । उनका अनुसार यस ढुङ्गा भएको ठाउँमा परापूर्व कालमा ठूलो पोखरी थियो । एक पटक कुनै स्थानबाट बिहेको जन्ती आएको र रात परेका कारण ती जन्तीहरू यसै ढुङ्गाको ओडारमा बास बसेको साथै खानपिन समेत सोही ठाउँमा गरेका थिए । बास बस्ने व्यक्तिहरूले पोखरीको पानी प्रयोग गरी पोखरीमा जुठो गरेको कारण दैवी शक्तिमा क्रोध पलाउन गई ढुङ्गा पल्टिएको र सो ढुङ्गाले किचेर दुलाहा दुलही सहित सबै जन्तीहरू किचिएको जन आहान रहेको छ ।
शाक्यमुनी गौतम बुद्धको आराधानामा प्रयोग गरिने मन्त्रहरू कुँदिएको अहिले प्रत्यक्ष देख्दा भने साँच्चै अचम्म लाग्ने गर्दछ । मार्तोल र छिनोको प्रयोग गरेर मात्र यी मन्त्रहरू यस ढुङ्गामा कुँद्न सकिने अवस्था भएको वास्तविकतामा विगत लामो समय पहिला यी अक्षरहरु कसरी कुँदिए भनेर जो कोहीको मनमा पनि प्रश्न चिन्ह खडा हुने नै गर्दछ । अजङ्गको ढुङ्गामा यति मेहनत गरेर आखिर यी मन्त्रहरू कति वर्ष अघि कुँदिएको होला ? प्रश्न आफैँमा अनुत्तरित छ । कसलाई सोध्ने या को बाट बुझ्ने ? सोच्न मन लाग्ने खालको छ ।
यस ढुङ्गाको उत्तरपट्टी देवीको मन्दिर समेत रहेको छ । यस मन्दिरमा हरेक चण्डीपूर्णिमा र बाल चतुर्दशीमा मेला लाग्ने गरेको दाहाल बताउँछन् ।
नेपाल आफैंमा धार्मिक सहिष्णुता भएको देश हो । नेपालमा धर्मका नाममा न यहाँ कहिल्यै झगडा भयो न त दंगा फसाद् नै । यसैको उदाहरण स्वरुप यस ढुङ्गामा कुँदिएका बौद्ध धर्मका मन्त्रहरू र सँगै रहेको देवी मन्दिरको समान सार्थकता र महत्वले यस क्षेत्रलाई अझ भक्तजनहरुको मिश्रित उपस्थितिको सम्भावनालाई बलियो बनाएको छ ।
शाक्यमुनी गौतम बुद्ध आफैंमा नेवारी समुदायका व्यक्ति हुन भन्ने समेत कहिँकतै विश्वास गरिएको छ । यद्यपि गौतम बुद्ध नेवारी समुदायका हुन् कि हैनन् भन्ने यकिन गर्न सकिएको छैन । विभिन्न समयमा प्रकशन भएका विविध शोध सामग्री तथा अनुसन्धानलाई समेत मध्यनजर गर्ने हो भने उनी शाक्य वंशका हुन् ।
हालका दिनमा शाक्यहरु नेवारी समुदायका हुनु र हिनायाना बुद्धको रुपमा नेवारहरुले बौद्ध धर्मलाई मानिरहेका हुनुले गौतम बुद्ध नेवारी समुदायका हुन् कि भन्ने अनुमान लगाउन सकिन्छ । जो कोहीले गर्ने अनुमानलाई अझ बलियो बनाउन यस ढुङ्गामा प्रयोग गरिएको रञ्जना लिपिलाई लिन सकिन्छ । यहाँ कुँदिएका अधिंकाश मन्त्रहरू चीनको स्वशासित क्षेत्र तिब्बतमा प्रयोग हुने भोटे भाषाको सम्बोटा लिपि प्रयोग भइरहेको अवस्थामा नेवारी भाषाको रञ्जना लिपि समेत यस ढुङ्गामा प्रयोग हुनुले यहाँ जातीय तथा भाषिक सहिष्णुताको सन्देश समेत अझ बलियो भएको छ ।
गोकुलगंगा गाउँपालिकाले आफ्नो पालिका क्षेत्रभित्र भएका पर्यटकीय क्षेत्रहरुको संरक्षणका लागि गरेको प्रयासलाई निकै प्रशंसनीय मान्न सकिन्छ । पर्यटकीय क्षेत्रहरुलाई अझ धेरै प्रचारप्रशार गरी आन्तरिक र बाह्य पर्यटन प्रवर्धन गर्न सकिने यसै वडाका निवर्तमान वडाध्यक्ष मणीकुमार लामा बताउँछन् ।
पर्यापर्यटनले भरिपूर्ण रहेको गोकुलगंगा गाउँपालिकाको चुचुरेमा रहेको ठूलो ढुङ्गा प्रचारप्रशारको अभावमा ओझेलमा परेको छ । आध्यात्मिक बौद्ध दर्शनलाई जीवन्त राख्न सफल भएको यो ढुङ्गा सरोकारवाला निकायको दूरदृष्टिको अभावका ओझेलमा परेको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button