मनोकांक्षा पुरा गर्ने सानो शैलुङ
रामेछाप। प्राकृतिक सुन्दरताको धनी र धार्मिक तपोभूमि हो सानो शैलुङ । रामेछापको दोरम्बा शैलुङ गाउँपालिका वडा नं. ४ मा रहेको सानो शैलुङले प्रकृतिप्रेमी तथा भक्तजनहरूको मन भुल्याईहाल्छ । सुन्दर, शान्त र रमणीय सानो शैलुङमा मागेको कुरा पूरा हुने जनविश्वासको कारण मानिसहरू सानो शैलुङको दर्शन गर्न जाने गर्छन् ।
वर्षामा ४ पटक यहाँ ठूलो मेला लाग्छ । त्यसबाहेक भक्तजनहरू महादेवको दर्शन गर्न जनसुकै दिन पनि पुग्ने गर्छन् ।दोलखा, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, चितवनबाट समेत मानिसहरू दर्शन गर्न र भिडियो बनाउन आउने गरेका छन् ।
सानो शैलुङ महादेवलाई करिब ४ सय वर्ष पहिलेदेखि पुज्न थालिएको पुजारी डम्बर बहादुर मगर बताउँछन् । उनको अनुसार महादेव स्थानको नजिकै गोठमा पालिएको गाईले गोठाला र बाच्छालाई दूध नदिने, दिउँसोभरि गाई गोठमा नबस्ने र साँझमा बास बस्नमात्र आउने गरेपछि, दिनभरि गाई कहाँ जाँदोरहेछ भनी गाईको पिछा गर्दै जाँदा महादेव स्थानको शिवलिङ्गमा गाईले दूध दिएको फेला परेपछि महादेवलाई पूज्न थालिएको थियो ।
जहाँ शिवको मूर्ति वा आकार छ त्यसको ठिकमाथि गाईको थुन आकारको शिला छ । गाईको थुनको आकार भएको शिलाबाट शिवको मूर्तिको शिरमा निरन्तर पानीको थोपा चुहिरहन्छ । शिवको मूर्तिको शिरमा चुहिरहने पानीको थोपा हातमा थाप्दा दूध बनेको काठमाडौँ जोरपाटीबाट दर्शन गर्न आएकी भक्तजन भगवती चौलागाईले बताइन् । सानो शैलुङ्ग महादेव स्थानमा लक्ष्मीको भण्डारखाल रहेको पनि जनविश्वास रहिआएको छ ।
स्थानीय बुढापाकाका अनुसार पहिला÷पहिला भक्तजनहरू आएर महादेव स्थानमा नारायण पूजा लगाउने गर्ने गर्दथे । नारायण पूजाका लागि आवश्यक पर्ने सामानहरू माना, पाथी, थाली जस्ता बस्तुहरू अगाडि आएर बस्दथ्यो र पूजा सकिएपछि ती सामानहरू पुनः अलप हुने गर्दथ्यो । सानो शैलुङ आसपासकै एक जना तामाङले तामाको खड्कुँला माग्दा दिएको र त्यो खड्कुँलामा तामाङले गाईको मासु पकाएदेखि प्रत्यक्ष रूपमा भाँडाहरू दिन छोडेको भनाई छ ।
महादेव स्थानमा एउटा ढुङ्गा छ, त्यो ढुङ्गालाई मादलझैँ बजाउँदा अहिले पनि मादलकै आवाज आउँछ । त्यो ढुङ्गामा जो कोहीले पनि मादल बजाउन सक्छन् । स्थानीय बुढापाकाहरूका अनुसार पहिला नारायण पूजा लगाएर राति जागराम बस्नेहरूले यही ढुङ्गालाई मादल बजाएर भक्तजनहरू नाच्ने गाउने गर्दथे ।
महादेव स्थानमा वर्षको ४ पटक मेला लाग्ने गर्दछ । श्रावणको जनैपूर्णिमा, मङ्सिरको बालचतुर्दशी वा सद्विऊ छर्ने औँसी, पौषपूर्णिमा र शिवरात्रिमा मेला लाग्ने गर्दछ । जनैपूर्णिमामा भक्तजनहरूले महादेव स्थानमा गएर अन्न बाली, सम्पत्ति, गाई बस्तु माग्दछन् भने बालचतुर्दशी वा सद्बिऊ छर्ने औँसीमा पितृहरूको नाममा बत्ती बालेर रातभरि जागराम बस्ने गर्दछन्, यो मेला दुई दिनसम्म लाग्दछ ।
त्यस्तै पौष पूर्णिमाको अवसरमा ८ दिनसम्म मेला लाग्दछ । सानो शैलुङ्ग महादेव स्थानमा लाग्ने यो सबैभन्दा ठूलो मेला हो । शिवरात्रिमा ३ दिनसम्म मेला लाग्दछ । अन्य बेलामा घण्ट, तामाको त्रिशूल, दूध, दही र फलपूmल चढाउने गरिए पनि शिवरात्रिमा भने शिवले गाँजा मन पराउने भएकाले गाँजा पनि चढाउने चलन रहेको सानो शैलुङ्ग संरक्षण समितिको अध्यक्ष खडानन्द थापामगरले बताए ।
सानो शैलुङ्ग महादेव स्थानमा आएर पूजाआजा गर्नेहरूको मनोकांक्षा पूरा भइरहेको पनि संरक्षण समितिका अध्यक्ष मगरको भनाई छ । बच्चा नहुने आएर बच्चा माग्दा बच्चा हुने, धन माग्दा धन प्राप्त हुने, अहिलेसम्म जे माग्यो त्यही प्राप्त हुँदै आएको छ मगरले बताए । आजभन्दा करिब २० वर्ष पहिले एक जना महिलाले रित्तो कोक्रो बोकेर आई बच्चा मागेर गएको र त्यसको पछिल्लो वर्ष कोक्रोमा बच्चा बोकेर आएको उनले बताए ।
सानो शैलुङ्ग महादेव स्थान क्षेत्रको विकास गर्नु आवश्यक रहेको उनको भनाई छ । पहिलेको तुलनामा अहिले केही विकास भए पनि डिपीआर नगरी काम गर्दा कस्तो खालको संरचना निर्माण गर्ने र कति बजेट लाग्छ भन्ने एकिन नहुँदा सोचे अनुसारको विकास हुन नसकेको मगरले गुनासो गरे । महादेव थान सम्म पुग्ने सिडी निर्माण, रेलिङ, खानेपानी, शौचालय र केही घडेरीहरू खारेर टहरा निर्माण गर्न गाउँपालिकाले सहयोग गरेको उनले बताए ।
सानो शैलुङ्ग महादेव स्थान विकासको लागि गाउँपालिका, प्रदेश सरकार र संघीय सरकार नै लाग्नु पर्ने गाउँपालिकाका अध्यक्ष मैनकुमार मोक्तान बताउँछन् । मोक्तानले भने – सानो शैलुङ धार्मिक पर्यटकीय स्थल भएको कारणले धेरै भन्दा धेरै धार्मिक पर्यटक भित्राउने पालिकाको योजना छ । यसको लागी पालिकाले विशेष योजना बनाउँदैछ ।
रामेछापको मन्थली, खाँडादेवी, गाल्पा हुँदै सानो शैलुङसम्म मोटरबाटोको व्यवस्था छ । सानो गाडी या आफ्ना निजी सवारी साधनमा बिहान गएर बेलुकी फर्किन सकिन्छ । यस ठाउँ काठमाडौँबाट समेत नजिक पर्ने भएकाले प्राय मान्छेहरू बिहान आएर बेलुकी फकिर्ने गर्छन् । सानो शैलुङ दोरम्बा शैलुङ गाउँपालिकाको कार्यालयबाट २२ किलोमिटर टाढा रहेको छ ।