झोलुङ्गे पुल बनेपछि खुसी भए तिल्पुङवासी

रामेछाप । जिल्लाको लिखुतामाकोशी गाउँपालिका वडा नं. ७ को तिल्पुङ खोला वारिपारि जोड्ने झोलुङ्गे पुल निर्माण भएपछि स्थानीयवासीमा खुसी छाएको छ । स्थानीयवासीको लामो प्रतीक्षापछि तिल्पुङ नदीमा झोलुङ्गे पुल निर्माण भएको हो । तिल्पुङ खोलामा पुल नहुँदा तिल्पुङ ७ का स्थानीय खेतीपाती गर्न, जङ्गलमा घाँस दाउरा काट्न तथा आवतजावत गर्न समस्या भएको थियो । बर्खायाममा ठुलो खोला आउने हुँदा लामो बाटो घुमेर हिँड्न पर्ने बाध्यता थियो । अहिले झोलुङ्गे पुल बनाइएको ठाउँमा कहिले काठको त कहिले बाँसको पुल बनाएर आवतजावत गर्ने गरिएको थियो । ती काठ र बाँसका फड्के पनि खोलाले लाने र जोखिमपूर्ण हुने हुनाले स्थानीयहरूले सास्ती बेहोर्दै आएका थिए । पुल नहुँदा तिल्पुङका नागरिकको जीवनयापन कष्टपूर्ण थियो ।
पटकपटक हारगुहारपछि यसपटक पुल निर्माण भएको तिल्पुङका स्थानीय केहरमा तामाङले बताए । घलेगाउँ, खाल्सा लगायत स्थानीय असार देखि कार्तिक सम्म खेतीपाती गर्न आवतजावत गर्न धेरै नै जोखिम मोल्नुपर्थ्यो । अब धेरै नै सहज भएको छ । पुल नहुँदा काठेपुल हुँदा पुल भाँचिएर ३ जना स्थानीयले ज्यान गुमाउनु परेको हामीले अहिले सम्म भुल्न सकेका छैनौ । उनले भने ।
लिखुतामाकोशी गाउँपालिका वडा नं.६,७ र ८ का स्थानीयहरूलाई भिरको बाटो हुँदै लामो समय लगाएर हिँड्नु पर्ने कष्ट पुल बनेपछि हटेको छ, स्थानीय दान बहादुर तामाङले बताए । रोपाइँमा जाँदा ठुलो पानी परे पछि पारी नै रात काट्न पर्थ्यो । अब खेती किसानी गर्न जाँदा पनि ढुक्क भयो ।
रोपोमा पानी लगाउन गएका घरका मानिस घर फर्कने हुन् की हैनन् भन्ने पिरले सताउँथ्यो । बाँसको पुल भत्किने पो होकी? केही दुर्घटना पो हुने होकी भनेर पानी लगाउन गएको घरका मान्छे घर नआईपुगुन्जेल भोक तिर्खा हुँदैनथ्यो । अब यस्तो पीडा हुने छैन । स्थानीय सरकारले पीडा मुक्त गराई दियो – लालमाया तामाङले भनिन् ।
लगभग २ सय ७५ घरपरिवारको बसोबास रहेको यस गाउँमा १ हजार ३ सय ३० जनाको जनसङ्ख्या छ । पुल निर्माण सम्पन्न भएसँगै स्थानीयवासीलाई ओहोरदोहोर गर्न सहज भएको गाउँपालिकाका अध्यक्ष केशव महतले बताए । पुल नहुँदा पारिको बस्तीमा ओहोरदोहोर गर्न समस्या थियो । उनले भने । गत वर्ष मात्रै ठेक्का लगाई काम सुरु गरेकोमा सम्पन्न मिति अगावै पुल निर्माण कार्य सम्पन्न गरेकोमा उनले धन्यवाद व्यक्त गरे । सबै योजनाहरूको काम यसरी नै सम्पन्न हुन सकेमा विकासका कामहरूले तीव्रता पाउने महतले बताए । खुसी हुँदै उनले भने– अहिले सबैको सक्रियताले पुल निर्माण भएको छ । यो हाम्रा लागि गौरवको विषय हो ।
लिखुतामाकोशी गाउँपालिकाको १३ प्रतिशत, सङ्घीय सरकारको ८५ प्रतिशत र जनश्रमदान २ प्रतिशत गरी कुल रु ६२ लाख ९७ हजार ६ सय ३४ रुपैयाँमा खोलाखर्क झोलुङ्गे पुल निर्माण आयोजना सम्पन्न गरिएको हो । विसं २०८० मङ्सिर २० गते पुलको निर्माण कार्य सुरु गरिएको थियो । आइतबार गाउँपालिका अध्यक्ष केशव महतले रिबन काटेर पुलको उद्घाटन गरेका हुन् । विगतमा राज्यको नजरमा नपरेको उपेक्षित, उत्पीडित तिल्पुङवासीले झोलुङ्गे पुल बनेपछि अत्यावश्यकीय सेवा सुविधा सहजरूपमा पाउने छन् ।पुलको प्राविधिक तथा सामाजिक सहयोग गैर सहकारी संस्था डिप्रोक्स नेपालले गरेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button