क्विन बचतका बचतकर्ताको करोडौँ बचत जोखिममा

रामेछाप । जिल्लाको मन्थली नगरपालिका वडा नं. १ मा रहेको क्विन बचत तथा ऋण सहकारीको बचतकर्ताको लाखौँ बचत जोखिममा पर्ने देखिएको छ । एक हजार बचत कर्ताको करोडौँ बचत रकम रहेको क्विन बचतले बचतकर्तालाई भ्रममा पार्न मनै लोभ्याउने कार्यालय व्यवस्थापन, विभिन्न प्रलोभनमा पार्ने किसिमका कार्यक्रमहरू देखाएर बचतकर्ताको करोडौँ रकम जोखिममा पारेको यथार्थ बाहिर आएको छ ।
जिल्ला भरी कार्य क्षेत्र रहेको यो सहकारीमा ९ सय ९९ जना सदस्य जोडिएका छन् । काठमाडौँको चाबहिलमा केन्द्रीय कार्यालय सञ्चालनमा रहेको छ भन्दै मन्थलीको देवकोटा चोकैमा कार्यालय खोलेर क्विन बचतले धमाधम बचत सङ्कलन गरिरहेको छ । बचतकर्तालाई अचम्मित र डरमर्दो बनाउने कुरा त के छ भने, सहकारीको सञ्चालक समिति नै को–को हुन् र छन् की छैनन् भन्ने नै सहकारीकै कर्मचारीलाई थाहा छैन । ५ सय हाराहारीमा सहकारी दर्ता भएको तथ्याङ्क रहेको रामेछापमा क्विन बचतसँग भने कुनै पनि सहकारीको नियामक निकायसँग आबद्ध भएको प्रमाण छैन ।
रामेछाप बचत तथा ऋण सहकारी सङ्घका अध्यक्ष एवं बागमती प्रदेशको बचत तथा ऋण सहकारी सङ्घ (प्रोस्कुन) सञ्चालक समेत रहेका जगन्नाथ दाहाल आफै क्विन बचतको चालढाल देखेर अचम्मित छन् । उनी भन्छन् –यो सहकारीलाई हामीले पटक–पटक आबद्ध हुन गरेको परिपत्र र आग्रहलाई नजर अन्दाज गरेर बसेको छ । क्विन बचत हामीसँग मात्रै नभएर कुनै पनि निकायसँग आबद्ध हुन मानिरहेको छैन । विधि र प्रक्रिया अनुसार चलेको मै आशङ्का गरेका छ । हामीले पटक– पटक कार्यालयमै गएर पनि हे¥यौ । कार्यालय व्यवस्थित छ । तर, कागजात र अन्य प्रक्रिया हामीले माग्दा र बुझ्न खोज्दा पनि हेर्न दिइएको छैन ।
२०७८ सालको फागुन १३ गते देखि मन्थलीको देवकोटा चोकमा सेवा सुरु गरेको यो क्विन बचत कुनै पनि नियामक निकायसँग आबद्ध नरहेको सहकारीका असिस्टेन्ट म्यान्जेर पदमा कार्यरत विकेश श्रेष्ठ पनि स्वीकारे । उनले भने म केही समय अगाडि आएको हुँ । हामी कुनै पनि सङ्घहरूमा आबद्ध भएको थाहा छैन । यो आर्थिक वर्ष सकिएपछि कुनैमा आबद्ध हुनु पर्छ कि भनेर कुरा भने चलेको छ । म मन्थली क्याम्पसमा स्नातकोत्तर तहमा अध्ययनरत रहेको र पढ्दै काम गर्ने सिलसिलामा यो सहकारीमा जोडिएको हुँ ।
सिधा भाषामा भन्दा असिस्टेन्ट म्यान्जेर श्रेष्ठलाई क्विन बचत कसरी सञ्चालन भइरहेको छ भन्ने नै थाहा छैन । सहकारीका बारेमा माथिल्लो निकायमै बुझ्नु पर्ने र यसबारेमा आफू पूर्ण जानकार नरहेको बताउँछन् उनी ।
श्रेष्ठका अनुसार उनी सहित ६ जना क्विन बचतमा कार्यरत छन् । उनका अनुसार– केन्द्रीय कार्यालय चाबाहिल प्लाजामा गेलु घर भएका हेम्चन लामाले क्विन बचत सञ्चालन गरेको र रामेछापमा पनि आफूहरूले कार्यक्षेत्र विस्तार गरेर काम गरिरहेको बताए ।
क्विन बचतले दैनिक ८० हजार देखि एक लाख सम्म बचत सङ्कलन गर्दै आएको बताइएको छ । हाल सम्म २ करोड ७५ लाख बराबरको आर्थिक कारोबार गरेको यो सहकारीको कार्यरत कर्मचारीहरू सम्पर्कमा रहेनन् भने बचतकर्ताको करोडौँ रकम डुब्ने प्रस्ट देखिएको छ ।
यहाँ जम्मा हुने सबै रकम सिधै केन्द्रमा पठाउँदै आएको श्रेष्ठ बताउँछन् । यहाँका कर्मचारीहरू सम्पर्कमा रहेनन् भने बचतकर्ताको करोडौँ रकम डुब्ने कुरा समेत स्विकार्छन् उनी ।
मन्थली नगरपालिकालाई जानकारी नै नगराई सहकारी सञ्चालन गरेको नगरपालिकाले थाहा पाएपछि प्रक्रियामा गएर सञ्चालन गर्न आग्रह गरेको पाइएको छ । आग्रह पछि मन्थलीकै ३० जना मात्रै रहेको एक सहकारीमा मर्ज भएको र त्यसपछि प्रदेशले सञ्चालनको अनुमति पत्र पठाएको बुझिएको छ । नगरपालिकाले आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त सहकारी नियम विपरीत चलेर मन्थलीका जनताको रकम उच्च जोखिममा परेको भन्दै त्यस्ता सहकारीहरूलाई कारबाहीको दायरामा लानु पर्नेमा सरोकारवालाहरूले नगरको ध्यानाकर्षण समेत गरेका छन् ।