पहिरो पीडितलाई कान्छारामको सहयोग

रामेछाप । जिल्लाको गोकुलगंगा गाउँपालिका वडा नं. ६ फर्पुमा पहिरोमा परि ज्यान गुमाउनेहरूको परिवारलाई नेपाली काँग्रेस रामेछापका सभापति तथा सङ्घीय सांसद पूर्ण बहादुर तामाङ (कान्छाराम) ले नगद सहयोग गरेका छन् ।
सांसद कान्छारामले पहिरामा परि ज्यान गुमाउनेको परिवारको घरमा पुगेर शनिवार जनही १० हजार रुपैयाँका दरले तत्काललाई सहयोग उपलब्ध गराएका हुन । कान्छारामले पहिरामा परि ज्यान गुमाउनेको परिवारलाई सान्त्वना दिँदै सुरक्षित स्थानमा बसोबास गर्नका लागि पहल भइरहेको बताए । उनले पहिरोबाट ज्यान गुमाउने प्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदना प्रकट गरे ।
यश अघि जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले पीडितको घरमै पुगेर राहत स्वरूप प्रदेश सरकारले उपलब्ध गराउने ५० हजार रुपैयाँ सहित २ लाख ५० हजार रुपैयाँ हस्तान्तरण गरी सकेकी छिन् ।
त्यस्तै पहिरोमा ज्यान गुमाएका तीन किशोरीको परिवारलाई नेकपा (एमाले) निकट युवा सङ्गठन राष्ट्रिय युवा सङ्घ नेपाल जिल्ला कमिटी रामेछापले खाद्यान्न राहत प्रदान गरेको थियो ।
शुक्रवार पीडित परिवारहरूको घर दैलोमा पुगेर सङ्घ रामेछापका अध्यक्ष एवं मन्थली नगरपालिका वडा नं २ का वडा अध्यक्ष समेत रहेका सुरेन्द्रबहादुर कार्की सहितको टोलीले आपत्कालीन राहत स्वरूप त्रिपाल, चामल, नुन, तेल, दाल, साबुन, चिउरा, दालमोट लगायतका सामाग्री प्रदान गरेको युवा सङ्घ रामेछापका अध्यक्ष कार्कीले जानकारी दिए ।
‘जहाँ विपत्ति, त्यहाँ राष्ट्रिय युवा सङ्घ नेपाल’ भन्ने मूल उद्देश्यसहित खाँडादेवी गाउँपालिकाका प्रमुख ज्ञानकुमार श्रेष्ठ, उप–प्रमुख रमा घिसिङ, मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठ, उपप्रमुख ईश्वरी बस्नेत सहितका व्यक्तिहरूको सहयोगमा युवा सङ्घले पीडित परिवारलाई उक्त राहतका सामाग्री खरिद गरी पीडित परिवारलाई प्रदान गरिएको सङ्घ रामेछापका अध्यक्ष कार्कीको भनाई छ ।
गाउँपालिकामा पर्ने विपत्तिमा सकेसम्म छिटो उद्धार तथा सहयोग गर्न आफूहरू तत्पर रहेको गोकुलगंगा गाउँपालिकाका अध्यक्ष काजीबहादुर खड्का(दिनेश) ले बताए । उनले जुनसुकै बेला बिपद् परे पनि खबर गर्न भन्दै सामाजिक सञ्जाल मार्फत वडाध्यक्षहरू तथा विपद् शाखाको नम्बर समेत सार्वजनिक गरेका छन् ।
गत बिहीबारको वर्षासँगै आएको पहिरोमा परि फर्पुका विमान तामाङको घर पुर्दा घरमा रहेकी विमानकी छोरी १८ वर्षीय सिता तामाङ तथा नातिनीहरू १५ वर्षीय लक्ष्मी र १३ वर्षीय आसिकाको मृत्यु भएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button