दसैँ- घट्दै आत्मीयता, बढ्दै बिलासिता

दसैँ नेपालीहरूको समाजिक सद्भाव र जीवनशैली पारिवारिक प्रेम सँग गहिरो गरी गाँसिएको पर्व हो। यो पर्वले परम्परा, संस्कृति, आस्था र परिवारबीचको आत्मीयता मात्र होइन, सामाजिक सम्बन्धलाई समेत बलियो बनाउने काम गरेको छ। तर समयको गतिसँगै दसैँको स्वरूप, अनुभव र अर्थमा उल्लेख्य परिवर्तन आएको छ। अहिलेको पुस्ताले अनुभव गर्ने दसैँ र पुरानो पुस्ताले भोगेका दसैँबीचको अन्तर सम्बन्धले हामी नेपाली समाजको रूपान्तरणलाई झल्काउँछ ।
नेपाल पत्रकार महासंघ रामेछापका निवर्तमान अध्यक्ष बद्री नयाँघरे यसै प्रसङ्गमा स्मृतिभावसहित भन्छन्, “हाम्रो पालाको दसैँ भनेको आत्मीयता, सामूहिकता र घरआँगनको उल्लाससँग जोडिएको पर्व थियो। अहिले पनि दसैँ मनाइन्छ, तर त्यसको आत्मा हराउँदै गएको जस्तो लाग्छ।”
नयाँघरेको भनाइमा पुराना पुस्ताको अनुभव झल्किन्छ। उनका अनुसार, दशैँ आउनु भन्दा अघिल्लो महिना नै गाउँघरमा वातावरण बदलिन्थ्यो। घर–आँगन सफा गर्ने, नयाँ माटोले लिपपोत गर्ने, गोठ र खलिहान सजाउने, धान काट्ने तयारी गर्ने चटारो सुरु हुन्थ्यो। बालबालिकाको उत्साह विशेष किसिमको हुन्थ्यो— मिठो खाने,नयाँ लुगा लगाउने,मान्यजनबाट टीका थाप्ने बाजे–बजैबाट दक्षिणा हात पार्ने, गाउँमा पिङ खेलेर रमाउने। टोलका युवाहरू सामूहिक रूपमा पिङ बनाउने, मेला–महोत्सव आयोजना गर्ने, देवीदेवताको पूजा गर्ने र परिवारमा भेटघाटले हार्दिकता बढाउँने गरेको थियो।
तर अहिलेको दशैँ त्यस्तो छैन। गाउँका बस्तीहरू सहर केन्द्रित हुन थालेका छन्, बिदेशमा रहेका परिवारजनले दशैँको बेला भेटघाट गर्ने परम्परा कमजोर हुँदै गएको छ। सहरमा भने दशैँ मुख्यतः उपभोग र बजारको भीडसँग जोडिएको छ। पसल–दोकानमा नयाँ लुगादेखि इलेक्ट्रोनिक्स सामनको खरिद आदिले चहलपहल संगै छुट्टै रौनकता समेत बढाउने गर्दथ्यो । अहिले गाउँघरमा पिङ बनाउने हाल्ने परम्परा हराउँदै गएको छ। सामाजिक सञ्जालमा फोटो पोस्ट गर्ने, टिकटोक बनाउन व्यस्त हुने चलन बढेको छ। यसबारे नयाँघरे भन्छन्, “पहिलेको दशैँमा खरिदबिक्री भन्दा पनि मनको खुशी ठूलो हुन्थ्यो। अहिले भने बजार धाउने र सामाजिक सञ्जालमा देखाउने शैली हावी भएको छ।”
दसैँले पुरानो पुस्तालाई आफ्नो बाल्यकालको मीठो सम्झना दिलाउँछ। परिवारका सबै सदस्य एकै ठाउँमा भेला हुने, दाजुभाइबीच पिठ्युँमा चढेर खेल्ने, दिदीबहिनीले गीत गाउँदै रमाउने संस्कार एक किसिमको सामूहिक आत्मीयता थियो। दशैँ भनेको परम्परा, बन्धुत्व र एकताको सन्देश बोकेको पर्व थियो। तर अहिलेको पुस्ताले दशैँलाई छुट्टी, नयाँ सामान र आधुनिक मनोरञ्जनसँग जोडेर हेर्न थालेको छ।
नयाँघरेका अनुसार, यो परिवर्तनलाई समयको अनिवार्य प्रक्रिया भन्न सकिन्छ। उनले भन्छन्, “संसार नै प्रविधि र आधुनिकतामा अघि बढेको छ। त्यसैले हाम्रो दसैँ पनि बदलिएको हो। तर, यसरी बदलिँदा मौलिकता हराउनु भने चिन्ताको विषय हो।”
वास्तवमा, आजको पुस्ताका लागि दसैँमा विदेशबाट घर फर्किने वा शहरबाट गाउँ जाने यात्राको चटारो बढी हुन्छ। बजार धाउने, नयाँ फेसनको कपडा किन्ने, महँगो मोबाइल किन्नु वा यात्रा गर्ने शैली प्रबल छ। टिका–दक्षिणालाई ‘फोटो सेसन’ बनाएर सामाजिक सञ्जालमा राख्ने परिपाटीले दसैँलाई सांस्कृतिकभन्दा बढी प्रदर्शनको पर्व बनाइरहेको छ।
यद्यपि परिवर्तनका बाबजुद दसैँले दिने एउटा ठूलो सन्देश अझै जोगिएको छ— परिवारको एकता। देशभित्र वा बाहिर जहाँ भए पनि मानिसहरू यस पर्वलाई आफ्ना प्रियजनसँग बिताउने अवसरका रूपमा लिन्छन्। यही कारणले दसैँ अझै पनि सबैभन्दा ठूलो चाडका रूपमा कायम छ।
नयाँघरले जोड दिँदै भन्छन्, “दसैँको मौलिकता जोगाउन हामीले नयाँ पुस्तालाई आफ्नो संस्कृतिसँग जोड्न सिकाउनुपर्छ। पिङ खेलाउने, मेलामा जाने, परिवारसँग बस्ने संस्कारलाई पुनर्जीवित नगरेसम्म दसैँ केवल बजारको उत्सवमा सीमित हुन्छ।”
उनको भनाइमा एक गहिरो सन्देश छ— संस्कृतिलाई केवल परम्परा भनेर छोड्ने होइन, जीवनशैलीमा जोगाएर राख्नुपर्छ। दसैँ केवल पूजाआजा वा टिका–दक्षिणाको पर्व होइन, यो पुस्ताबीचको सम्बन्ध, सामाजिक ऐक्यबद्धता र नेपालीपनको अभिन्न प्रतीक हो।
यसरी हेर्दा, हाम्रो पालाको दशैँ सामूहिक आत्मीयता, सादगी र संस्कृतिको पुनः पुष्टि गर्ने पर्व थियो। अहिलेको दशैँ समय, प्रविधि र आधुनिक जीवनशैलीसँग बदलिएको छ। तर मूल आत्मा अझै बाँकी छ। त्यो आत्मा जोगाउने जिम्मेवारी पुरानो र नयाँ दुवै पुस्ताले लिनुपर्छ।
नयाँघरेको स्मृतिबाट स्पष्ट हुन्छ— यदि हामीले परम्परा र मूल्यमा ध्यान दियौं भने दशैँ फेरि पनि सामूहिक आत्मीयताको बलियो सूत्र बन्न सक्छ। तर यदि हामी केवल उपभोग र प्रदर्शनतर्फ आकर्षित भइरह्यौं भने भविष्यमा दशैँ केवल बजारको चहलपहल र सामाजिक सञ्जालको पोस्टमा सीमित हुनेछ।
यसैले, दसैँलाई संस्कृतिको आत्मासहित मनाउने, पुरानो पुस्ताको अनुभवलाई नयाँ पुस्तामा प्रवाह गर्ने र सामूहिकताको भावनालाई जोगाउने काम हामी सबैको साझा दायित्व हो। हाम्रो पालाको दशैँले दिएको सन्देश आज पनि उत्तिकै सान्दर्भिक छ— परिवारिक प्रेम , संस्कृतिको जगेर्ना र सामाजिक सद्भाव कायम गर्न सक्नुनै हामीले मनाउने दशै पर्वको मूख्य मर्म हो।



