रामेछापका लागि बजेट छुट्टाउन कन्जुस्याइँ गर्दिन– मन्त्री काफ्ले
रामेछाप । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले रामेछापको विकासका लागि बजेट छुट्टाउन कन्जुस्याइँ नगर्ने बताएका छन् । उनले भने – प्रदेश सरकारको तर्फबाट रामेछापको विकासमा सक्दो सहयोग गर्नेछु। संस्थागत रूपमा आएका योजनाहरूका सफल बनाउन कुनै कसर छाड्दिन ।
बिहीबार नेपाली काँग्रेस रामेछापले बिपी स्मृति भवन मन्थलीमा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै मन्त्री काफ्लेले रामेछाप आफ्नो लागि घर जस्तै भएकोले यहाँ विकास गर्न पाउनु भनेको घरकै उन्नति गर्नु झैँ लाग्ने बताए। उनले भने –रामेछापको विकास अहिले नगरे कहिले गर्ने । मेरो क्षमताले भ्याए सम्म सकेको सहयोग गर्छु ।
नेपाली काँग्रेस रामेछापका उपसभापति लेखबहादुर कार्कीको सभापतित्वमा भएको बधाई तथा शुभकामना कार्यक्रममा जिल्ला कार्यसमिति सदस्यहरू, रामेछाप नगरपालिकाका प्रमुख तथा निवर्तमान पार्टी सभापति लवश्री न्यौपाने, उपप्रमुख बालाकुमारी कार्की (थापा) लगायत नेपाल तरुण दल, नेविसंघ, शुभेच्छुक संस्थाका प्रमुख तथा प्रतिनिधिको भव्य उपस्थितिमा मन्त्री काफ्लेलाई मन्त्री कार्यकालको शुभकामना तथा बधाई दिइएको थियो ।
रामेछापका विद्यालयमा खानेपानीको अभाव, कृषिमा सिँचाइ, वृद्ध आश्रम, सडक पूर्वाधार लगायतका समस्याहरू रहेको सुनाउँदै समस्या सम्बोधन हुने गरी प्रदेश सरकारले सहयोग गर्न नेपाली काँग्रेस रामेछापका उपसभापति कार्कीले आग्रह गरे ।