शैलुङ् पहिरो अपडेटः मृतकको संख्या ८ पुग्यो
रामेछाप । रामेछापको दोरम्बा शैलुङ गाउँपालिका वडा नं ३ लेकखर्क पहरे गाउँमा पहिरो परी मृत्यु हुनेको संख्या ८ पुगेको छ । बेपत्ता रहेका ३ मध्ये बिन्दा पहरीको शव आज भेटिएको प्रहरीले बताएको छ ।
जिल्लाको सुनापती गाउँपालिका-४ खानिखोलाको किनारमा झ्याँसमाथी रातो नङ पालीस लगाएको महिलाको जस्तो देखिने बायाँ खुट्टाको गोलीगाँठा मुनिको पैतालाको भाग फेला परेको छ । उक्त खोला दोरम्बा शैलुङ गाउँपालिका भई बग्दै आउने भएकोले प्रहरीले निजको आफन्तलाई खबरेको बताइएको छ ।
गत ९ गते बिहान दोरम्बा शैलुङ गाउँपालिका वडा नं.-३ लेखर्क स्थित पहिरोमा पुरी हालसम्म बेपत्ता रहेकी बिन्दा पहरीको नै हो भनी निजको श्रीमान् कुमार पहरीले खुट्टाको बुढीऔला बाङ्गो र रातो नङ पालिसको आधारमा सनाखत गरेका छन् । सनाखत पश्चात् उक्त फेला परेको शव आवश्यक कानुनी प्रक्रिया पुरा गरी मृतकको श्रीमानलाई जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
अविरल वर्षाका कारण शनिवार राति करिब पौने १२ बजे माथिबाट खसेको पहिरोले पुरिएर उनीहरूको मृत्यु भएको हो । पहिरोमा पुरिएकाहरू मध्ये अहिलेसम्म चण्डिका थापामगर र उनका १८ महिने छोरा, उर्मिला पहरी, सन्दीप पहरी, सन्तोष पहरी, विज्ञान पहरी र पुड्की पहरी र पुड्की पहरीको शव यस अघि नै भेटिएको छ ।
सोही पहिरोमा काले पहरी र झ्याउकुरी पहरी अझै बेपत्ता छिन् । ११ वर्षीय घाइते अञ्जना पहरीको काठमाडौँमा उपचार भइरहेको छ । पहिरोले ३ वटा घर बगाएको र एउटा घर पुरिएको छ । बेपत्ताको उद्धार कार्य जारी छ ।