बैठकमा आज एक मात्र प्रस्तावित राजदूतको सुनुवाइ हुने
काठमाडौं। संसदीय सुनुवाइ समितिको बैठक आज पनि बस्दैछ। बिहान ११ बजे बस्ने बैठकमा आज एक जना प्रस्तावित राजदूतको सुनुवाइ हुने छन्।
सुनुवाइका लागि कतारका लागि प्रस्तावित राजदूत रमेशचन्द्र पौडेललाई मात्र बोलाइएको समिति सभापति ईश्वरीदेवि न्यौपानेले जानकारी दिइन्।
संसद बैठक भएकोले आज एक जनालाई मात्र बोलाइएको उनको भनाइ रहेको छ। संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डे समितिको सचिव रहने व्यवस्था अनुसार पाण्डे संसदमा बस्नुपर्ने भएकोले एकजनालाई मात्र बोलाइएको उनको भनाइ छ।
सरकारले सिफारिस गरेका १७ जना राजदूत मध्ये आइतबार र सोमबार चारचार जना प्रस्तावित राजदूतको सुनुवाइ गरेको समितिले आज भने एक जनालाई मात्र बोलाएका हुन्।
समितिले आइतबार चीन, भारत, जर्मनी र डेनमार्कका लागि प्रस्तावित राजदूतको संसदीय सुनुवाइ गरेका छन्। बैठकले प्रस्तावित राजदूतहरू क्रमशस् प्राडा कृष्णप्रसाद ओली, शंकर शर्मा, शैल रुपाखेती र सुम्निमा तुलाधरको संसदीय सुनुवाइ गरेका हुन्।
यस्तै सोमबार इजरायलका लागि धनप्रसाद पण्डित, मलेसियाका लागि नेत्रप्रसाद तिमल्सिना र पाकिस्तानका लागि रीता धिताल र पोर्चुगलका लागि पोर्चुगलका लागि प्रकाशमणि पौडेलको सुनुवाइ गरेका हुन्।
अब बाँकी रुसी महासङ्घका लागि जङ्गबहादुर चौहान, साउदी अरबका लागि नरेशविक्रम ढकाल, दक्षिण अफ्रिकाका लागि प्राडा कपिलमान श्रेष्ठ, दक्षिण कोरियाका लागि डा शिवमाया तुम्बाहाम्फेलाई राजदूतको क्रमश सुनुवाइ गर्दै जानेछ।
यस्तै स्पेनका लागि सनिल नेपाल, श्रीलङ्काका लागि रामकृष्ण भट्टराई, संयुक्त अधिराज्यका लागि चन्द्रकुमार घिमिरे र संयुक्त राज्य अमेरिकाका लागि लोकदर्शन रेग्मीको सुनुवाइ हुन बाँकी छ।
समितिले ८ दिनभित्र सबै प्रस्तावित राजदूतको सुनुवाइ सकेर नियुक्तिका लागि राष्ट्रपति समक्ष पठाउने तयारी गरेको छ। राजदूतलाई राष्ट्रपतिले नियुक्ति गर्ने संवैधानिक व्यवस्था छ।