समाचार लेख्दा पत्रकारलाई मूर्ख भन्ने छुट कसले दियो ?

रामेछाप । महालेखापरीक्षकले गरेको लेखा परीक्षणको आधारमा समाचार लेख्दा खाँडादेवी गाउँपालिकाका अध्यक्ष ज्ञान कुमार श्रेष्ठले पत्रकारहरूलाई सिधा सीधा मूर्ख पत्रकार भनेका छन् । उनले पत्रकारलाई मूर्ख पत्रकार मात्र होइन महालेखाले ’कपि पेस्ट’ गरेर गलत रिपोर्ट दिएको समेत बताएका छन् ।
आर्थिक वर्ष २०७९÷८० को गाउँपालिकामा महालेखापरीक्षकले सार्वजनिक गरेको प्रतिवेदनमा गाउँपालिकाले खाना खर्च ५९ लाख  देखाएको थियो । सोही प्रतिवेदनको आधारमा रामेछापका विभिन्न सञ्चार माध्यमहरूले गाउँपालिका अध्यक्षले खाए ५९ लाखको भात भन्ने समाचार सम्प्रेषण गरेका थिए । यो सँगै अध्यक्ष श्रेष्ठले उक्त समाचारको खण्डन गर्न विज्ञप्ति समेत निकालेका थिए । सो विज्ञप्ति आए पछि पुनः ’५९ लाखको भात पचाउन २ पानाको विज्ञप्ति’ भन्ने समाचार समेत सम्प्रेषण भएको थियो ।
’गाउँपालिका अध्यक्षले खाए ५९ लाखको भात’ र ’५९ लाखको भात पचाउन २ पानाको विज्ञप्ति’ भन्ने समाचारको विषयलाई लिएर श्रेष्ठले आर्थिक मामिला तथा योजना मन्त्रालय बागमती प्रदेशको आयोजनामा भएको राजस्व बाँडफाँड तथा अन्तरसरकारी  वित्तीय हस्तान्तरण कार्यक्रममा पत्रकारलाई मूर्ख पत्रकार भनेका हुन् । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दन राज काफ्ले उपस्थित भएको अन्तर्क्रिरया कार्यक्रममा अध्यक्ष श्रेष्ठले मन्त्री काफ्लेकै सामुन्ने मूर्ख पत्रकार भने । तर मन्त्री काफ्लेले यो विषयमा कुनै प्रतिक्रिया दिएनन् ।
महालेखा परीक्षकको प्रतिवेदनमा टेकेर समाचार लेख्दा पालिकाका अध्यक्ष श्रेष्ठले खुलेआम पत्रकारलाई मूर्ख भन्दा पनि कोही एक शब्द बोल्न सकेनन् । स्थानीय सरकार र प्रदेश सरकारको बिचमा प्रतिपक्षको भूमिकामा बसेको पत्रकारलाई संसदको प्रतिपक्षलाई भन्दा बढी पेले श्रेष्ठले । तर श्रमजीवी पत्रकारका लागि लड्छु भन्ने कुनै संघ संस्थाले एउटा विज्ञप्ति समेत निकाल्ने हिम्मत गरेनन् ।
देखादेखी महालेखा परीक्षकको प्रतिवेदनमा ५९ लाखको भात आउँदा हाँसिहाँसी भात पचाउन पत्रकारलाई प्रतिकार गर्ने खाँडादेवी गाउँपालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठ दूधमा नुहाएर निस्किएका हुन् की कासीमा गएर चोखिएका हुन् ? होइन भने महालेखा परीक्षकको प्रतिवेदनको आधारमा समाचार लेख्दा पत्रकार कसरी मूर्ख भयो ? गाउँपालिकाको अध्यक्ष भए भन्दैमा सार्वजनिक ठाउँमा कसैको स्वच्छ पेसा प्रति अपमानित शब्द प्रयोग गर्ने छुट कसले दियो अध्यक्ष ज्ञानकुमार श्रेष्ठलाई ? महालेखा परीक्षकले देखेको ५९ लाखको भात भन्दा बाहेक तरकारी, सलाद, दाल, कालिज अनि टर्कीमा कति खर्च गरे होलान् त उनले । पालिकाको नागरिकको सेवामा समर्पित हुन्छु भनेर शपथ खाएर कुर्सीमा बसेका ज्ञानकुमार श्रेष्ठ जस्ता अध्यक्षलाई ५९ लाखको भात खाँदै पत्रकारलाई गाली गर्ने छुट छँदै छैन ।
५९ लाखको भात पचाउन महालेखापरीक्षकको प्रतिवेदन गलत भन्ने गाउँपालिकाको अध्यक्ष मूर्ख की प्रतिवेदनको आधारमा समाचार लेख्ने पत्रकार मूर्ख ?

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button