खुर्कोटको लागि बेलीब्रिज आज आईपुग्दै

रामेछाप । रामेछाप र सिन्धुली जिल्ला जोड्ने खुर्कोटको लागि बेलीब्रिज शनिवार बिहान सम्म आईपुग्ने भएको छ । असोज १२ गतेको अविरल वर्षासँगै आएको बाढीले बगाएको खुर्कोटको पुलका लागि शनिवार बिहान सम्म बेलीब्रिज आईपुग्ने भएपछि बेलीब्रिज बनाउने कार्य चाडै सुरु हुने भएको छ ।
हेटौँडाबाट बेलीब्रिजका सामान लिएर ट्रकहरू हिँडेका छन् । सामान सहित ट्रक हिँडेको हुँदा तत्कालै बेलीब्रिज बन्ने भएको । सोही अनुसार खुर्कोट पुलमा छिटो भन्दा छिटो बेलीब्रिज जडान गर्न बागमती प्रदेशको राजधानी हेटौँडाबाट ४८.८ मिटरको बेलीब्रिज लोड भएको जानकारी प्राप्त भएको छ । रामेछापबाट निर्वाचित सांसद ऊर्जा, जलश्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) ले शुक्रवार बाढीले बगाएको खुर्कोट पुलमा आवश्यक बेलीब्रिज प्रदेश राजधानी हेटौँडाबाट लोड गराएर पठाएको नेपाली काँग्रेस रामेछापका कार्यवाहक सभापति लेखबहादुर कार्कीले बताए ।
हेटौडाबाट बेलीब्रिजका समान लिएर ४–५ वटा ट्रकमा आउँदै गरेको सडक डिभिजन कार्यालयका इन्जिनियर प्रदीप तामाङले बताए। बेलीब्रिज जोड्न २ हप्ताबढी लाग्ने जानकारी तामाङले दिए । तामाङले भने– नेपाली सेना र सडक डिभिजन कार्यालयका प्राविधिकहरू समेतले लागेर बेलीब्रिज निर्माण गर्ने छन् ।
गत हप्ताको लगातारको वर्षाले सिन्धुलीको खुर्कोट र रामेछाप जोड्ने पक्की पुल बगाएको थियो । रामेछाप जोड्ने बिपी राजमार्ग अस्थायी रूपमा खोल्ने प्रयास भइरहँदा सुनकोसीमा बेलीब्रिज राख्ने तयारी भइरहेको छ । रामेछाप सदरमुकाम मन्थलीलाई राष्ट्रिय राजमार्ग बिपी राजमार्गसँग जोड्ने सेलेघाट–खुर्कोटको पुलमा नेपाली सेना मार्फत तत्काल बेलीब्रिज बनाउन सिफारिस भएको छ ।
बाढीले खुर्कोट पुल बगाएपछि रामेछापवासी १ हजार ५ सय रुपैयाँ सम्म गाडी भाडा तिरेर मन्थली–चरिकोट–खाडिचौर हुँदै काठमाडौँ आवतजावत गरिरहेका छन् । तराई क्षेत्रबाट जिल्लामा ल्याइने दैनिक उपभोग्य सामाग्रीहरूको पनि भाउ बढेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button