दुर्घटना अपडेट : ३ घाइते काठमाडौँ पठाइयो, बालकको खुलेन परिचय
रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिका वडा नं. ६ फर्पुमा शुक्रवार भएको फोर्स गाडी दुर्घटनाका घाइते तीनै जनालाई काठमाडौँ पठाइएको छ । मन्थलीमा सामान्य उपचारपछि थप उपचारको लागि उनीहरूलाई काठमाडौँ रेफर गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको हो । गम्भीर घाइते बेतालीकै २७ वर्षीय सरस्वती कार्की र कास्की जिल्लाको लेखनाथ नगरपालिका घर भएका ४२ वर्षीय केशव शर्मालाई ट्रमा सेन्टर पठाइएको हो । उनीहरू दुवैको अवस्था मध्यम छ । परिचय नखुलेका बालकलाई भने केएमसी अस्पताल काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।
काठमाडौँबाट रामेछापको बेतालीको लागि आएको ना १ ज ७१२३ नं को गाडी अनियन्त्रित भई पल्टिँदा गोकुलगंगा गाउँपालिकाको वडा नं ४ बेतालीका निर्वाचित वडा अध्यक्ष रामचन्द्र बस्नेतसहित ५ जनाको घटनास्थलमै मृत्यु भएको थियो । मृतकहरूको पोस्ट मार्टमको लागि मन्थली अस्पताल ल्याइएको छ । मृतक एक महिलाको सनाखत हुन बाँकी भएको प्रहरीले जनाएको छ ।
शुक्रवार दिउँसो १ : ५० बजे भएको दुर्घटनामा वडा अध्यक्ष बस्नेत, मन्थली नगरपालिका वडा नं १० चनखुका ३५ वर्षीय हिरा बहादुर कार्की (चालक), गोकुलगंगा गाउँपालिका वडा नं. ५ नामाडीका ३० वर्षीय कविता कार्की (खड्का) र उनकै ७ वर्षीय छोरी स्वस्तिका खड्काको मृत्यु भएको छ ।