उमाकुण्ड गाउँपालिका पाँचौँ राष्ट्रपति रनिङ शिल्डको उपाधि चण्डेश्वरीले जित्यो
रामेछाप । उमाकुण्ड गाउँपालिकामा पाँचौँ पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि पालिकाको वडा नं. ४ स्थित चण्डेश्वरी माध्यमिक विद्यालयले जितेको छ । लगातार तेस्रो पटक पालिकाका अन्य ६ वटा माविलाई पछि पार्दै चण्डेश्वरीले शिल्ड जितेको हो।
गत बुधवार पालिकाको वडा नं २ बाम्तिभण्डार स्थित शिद्देश्वर माध्यमिक विद्यालयको खेल मैदानमा सुरु भएको प्रतियोगितामा भलिबल, कबड्डी र एथलेटिक्स गरी ३० वटा इभेन्टमा २४६ जना विद्यार्थीहरू बिच प्रतिस्पर्धा भएको थियो ।
सो प्रतिस्पर्धामा १० वटा स्वर्ण, ६ रजत र २ कांस्य पदक जित्दै चण्डेश्वरीले पाँचौँ राष्ट्रपति रनिङ शिल्डको उपाधि हात पारेको हो । त्यस्तै ८ वटा स्वर्ण, ९ रजत र ७ कांस्यसहित वडा नं ६ गुप्तेश्वर स्थित कैलेश्वर माध्यमिक विद्यालय दोस्रो भएको छ ।
विजेताहरूलाई पालिका अध्यक्ष शेरबहादुर सुनुवार, उपाध्यक्ष सावित्री सुनुवार र वडा अध्यक्षहरूले पुरस्कार प्रदान गरे । विजेता चण्डेश्वरीले नगद २० हजारसहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । उपविजेता कैलेश्वरले नगद १५ हजारसहित मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ । ४ स्वर्ण, ७ रजत र ३ कांस्य पदक जित्दै वडा नं ३ कुँबुँकाँस्थली स्थित जनता माध्यमिक विद्यालय तेस्रो भएको छ । जनताले नगद १० हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
वडा नं २ बाम्तिभण्डार स्थित शिद्देश्वर माध्यमिक विद्यालयले २ स्वर्ण, ६ रजत र ६ जितेर सान्त्वनामा चित्ता बुझाएको उमाकुण्ड खेलकुद विकास समितिका अध्यक्ष सुदिप सुनुवारले बताए ।
चालु आर्थिक वर्ष २०८१/०८२ को कूल २५ लाख बजेट विनियोजन गरी संचालित रनिङ शिल्डमा सहभागी ७ विद्यालयहरूलाई १ लाख १५ हजारको दरले नगद नै सहयोग गरिएको थियो । साथै, यातायात खर्च समेत विद्यालयहरूलाई प्रदान गरिएको थियो ।