आधुनिक कृषि साकोसले सक्यो १४ औ वार्षिक साधारण सभा
रामेछाप । आधुनिक कृषि साकोसले मन्थली स्थित समन्वय समितिमा १४ औ वार्षिक साधारण सभा सम्पन्न गरेको हो । साकोसको साधारण सभाको उद्घाटन जिल्ला समन्वय समिति रामेछापकी प्रमुख चीना कार्की खड्काले गरिन् । खड्काले आधुनिक कृषि सहकारीले कृषकहरूलाई व्यवसायी बनाउन गरेको प्रयासको सराहना पनि गरिन् । उनले पछिल्लो समयमा सहकारीले शेयर सदस्यहरू र त्यसमा पनि ठुलो सङ्ख्यामा महिलाहरू लाई आधुनिक कृषि प्रविधि मार्फत रोजगारीमा जोडेकोमा सन्तोष ब्यक्त गर्दे साकोसको उत्तरोत्तर प्रगतिको कामना गरिन् ।
साकोसकि अध्यक्ष शान्ता घिमिरेको अध्यक्षतामा भएको उक्त साधारण सभामा संस्थाका सचिव भानुभक्त श्रेष्ठले सचिवको प्रतिवेदन र कोषाध्यक्ष ईश्वर घिमिरेले संस्थाको आर्थिक प्रतिवेदन वाचन गरेर सुनाइन् । सचिव भानुभक्त श्रेष्ठले आफ्नो प्रतिवेदनमा गत आवमा भएको कार्य प्रगति र आगामी वर्ष सञ्चालन गरिने कार्यक्रमका बारेमा सहभागी र आफ्ना शेयर सदस्यहरूलाई जानकारी गराइन् ।
संस्थाले हाल सम्म आई पुग्दा १ करोड ५० लाख रुपैयाँको कारोबार गर्न सफल भएको जानकारी कोषाध्यक्ष ईश्वर घिमिरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । संस्थाले एक वर्षको बिचमा संस्थाको सबै खर्च कटाएर कुल ३ लाख रुपैयाँ मुनाफा कमाउन सफल भएको पनि कोषाध्यक्ष घिमिरेले आफ्नो प्रतिवेदनमा उल्लेख गरेका छन् ।
उक्त साधारण सभामा जिल्ला समन्वय समितिका उप प्रमुख प्रेम बहादुर थापा,मन्थली नगरपालिकाकी उप प्रमुख ईश्वरी बस्नेत,जिल्ला समन्वय अधिकारी हरिकृष्ण फुयाँल,नेपाल पत्रकार महासंघका अध्यक्ष बद्री नयाँघरे,जिल्ला कृषि सहकारी संघका अध्यक्ष कुमार श्रेष्ठ लगायतका वक्ताहरुले संस्थाले आफ्ना शेयर सदस्य हरूको व्यवसायी हित र आय आर्जनमा खेलेको भूमिकाका बारेमा प्रशंसा गर्दै आगामी वर्षहरूमा यसले आफ्नो दायरलाई थप मजबुत बनाउँदै बताएका थिए ।