अराजक भएर चल्ने अधिकार पार्टीमा कसैलाई हुँदैनः मदन अमात्य
रामेछाप । रामेछाप पार्टीभित्र रहेका असन्तुष्टिलाई सामाजिक सञ्जालमा व्यक्त गर्ने काम अराजक भएको नेपाली काँग्रेसका केन्द्रीय सदस्य मदन अमात्यले बताए । नेपाल प्रेस युनियन रामेछापले मंगलबार मन्थलीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अमात्यले पार्टीका जिम्मेवार व्यक्तिले आन्तरिक कुरा सामाजिक सञ्जालमा छरपष्ट पार्न नमिल्ने बताए।
‘पार्टीभित्रका कुरा भित्रै छलफल गर्नुपर्छ, बाहिर विवादका कुरा गर्ने काम पार्टीको हित विपरीत हो। यो अनुशासनहीन काम हो, यसलाई स्विकार्न सकिँदैन’, उनले भने।सबैले आत्मसम्मानको लागि काम गर्ने बताउँदै अमात्यले सबैले सबैको आत्मसम्मानको कदर गर्नुपर्नेमा जोड दिए। ‘काम गर्ने शैलीमा विमति रहे छलफल गरेर समाधान खोज्नुपर्छ, तर अराजक भएर चल्ने अधिकार पार्टीमा कसैलाई हुँदैन’, उनले भने।
नेपाली काँग्रेस प्रजातान्त्रिक पार्टी भएको बताउँदै अमात्यले प्रजातन्त्र भित्र स्वतन्त्रता हुने भएपनि छाडातन्त्र नहुने स्पष्ट पारे । पार्टी भित्रका समस्या समाधान गर्दै प्रजातान्त्रिक हिसाबले संगठनलाई अझ बलियो र एक ढिक्का बनाउन काँग्रेसले एकसय दिने अभियान सुरु गरेको उनले जानकारी दिए।
कार्यक्रममा नेपाली काँग्रेस रामेछापका सभापति एवं संघीय सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले देश निर्माणको लागि सबै मिलेर अघि बढ्नुपर्ने बताए। तामाङले आफ्नो कार्यकालमा रामेछापमा नेपाली काँग्रेसलाई पहिलो पार्टी बनाउने पनि बताए। पार्टीभित्रका राम्रा पक्षलाई प्रवर्धन गर्न र कमजोरी हटाउन अभियान सुरु भएको बताउँदै उनले यो अभियानले सकारात्मक परिणाम दिने विश्वास व्यक्त गरे।
पत्रकार भेटघाट कार्यक्रममा नेपाली काँग्रेस रामेछापका पूर्वसभापति रामचन्द्र खड्काले सहर केन्द्रित भएका नेता कार्यकर्तालाई गाउँमा पु¥याउन काँग्रेसले अभियान सुरु गरेको बताए। नेताले मनोमानी ढङ्गले गरेको निर्णय अरूले बोकेर हिँड्न नसक्ने बताउँदै खड्काले सामूहिक निर्णयले पार्टी अघि बढ्ने स्पष्ट पारे। काँग्रेसको यो अभियानले यही काम गर्ने खड्काले बताए।



