गोकुलगंगा गाउँपालिकाको चालु खर्च ३५.७२ प्रतिशत
रामेछाप । रामेछापको गोकुुलगंगा गाउँपालिकाको गाउँ सभा तथा १६ औँ अधिवेशन बुधवार सम्पन्न भएको छ । गाउँपालिकाको सभा हलमा गाउँपालिकाका अध्यक्ष काजी बहादुर खड्का (दिनेश) ले चालु आर्थिक वर्षको हालसम्म भएको कामहरूको प्रगति बारेमा जानकारी गराए ।
उनले चालु आवको पाँच महिनामा भएको कामहरूको बारेमा गाउँ सभामा जानकारी गराए । चालु आवको कुल विनियोजित रकम रु ५४ करोड ५६ लाख १४ हजार ४ सय ५१ रहेकोमा चालु आवको पौष २४ गतेसम्म रु १३ करोड ५६ लाख ६२ हजार १ सय ३१ रुपैयाँ मात्र खर्च भएको छ । जुन कुल विनियोजन बजेटको २४.८७ प्रतिशत रहेको गाउँसभामा गाउँपालिकाका उपाध्यक्ष उषादेवी कार्कीले बताइन् । गाउँपालिकाको समग्र खर्च प्रतिशतलाई हेर्दा चालु खर्च तर्फ ३५.७२ प्रतिशत र पुँजीगत खर्च तर्फ ७.२५ प्रतिशत मात्रै बजेट खर्च भएको छ ।
हालसम्म पालिकाको आर्थिक विकास तर्फ ३.४६ प्रतिशत,सामाजिक विकास तर्फ ३७.९२ प्रतिशत,पूर्वाधार विकास तर्फ ८.९२ प्रतिशत,सुशासन तथा अन्तरसम्बन्धित क्षेत्र तर्फ ९.१ प्रतिशत र कार्यालय संचालन तथा प्रशासनिक क्षेत्रमा ३४.८१ प्रतिशत खर्च भएको छ । राजश्व आम्दानी तर्फ चालु आ÷व मा अघिल्लो आ÷व को मौज्दात सहित ३ करोड ९७ लाख ८१ हजार ३ सय ५० रुपैयाँको लक्ष्य राखिएकोमा हालसम्म २ करोड २५ लाख ९० हजार ४ सय ८६ रुपैयाँ राजश्व उठेको बताइएको छ ।
गाउँ सभाबाट चालु आर्थिक वर्षको हालसम्म भएको कामहरूको प्रगति प्रतिवेदन र संशोधित अनुमान सहितको बजेट पनि पारित भएको छ । संवृद्ध गोकुलगंगा गाउँपालिका बनाउने गरी विकासका कामहरू भइरहेको गाउँपालिकाका अध्यक्ष काजी बहादुर खड्का (दिनेश)ले बताए । यसको लागी सबैको भूमिका महत्त्वपूर्ण हुने उनको भनाई छ ।