रामेछाप नगरपालिकाको वित्तीय प्रगति १८.४ प्रतिशत

रामेछाप । रामेछाप नगरपालिकाको चालु आर्थिक वर्ष २०८१÷८२ मा चालु तर्फ रु ५१ करोड ३७ लाख ३ हजार ७ सय २३ र पुँजीगत तर्फ रु २५ करोड २१ लाख ६५ हजार ८ सय २८ गरी जम्मा रु ७६ करोड ८८ लाख ६९ हजार ५ सय ४१ रुपैयाँको वार्षिक योजना तथा कार्यक्रम रहेकोमा हालसम्म चालु तर्फ १२ करोड ८७ लाख ४४ हजार ७ सय १५ अर्थात् २५.६४ प्रतिशत खर्च भएको छ ।
नगरपालिकाको पुँजीगत तर्फ १ करोड २७ लाख ९१ हजार १२ अर्थात् ५.०१ प्रतिशत मात्र खर्च भएको छ । यस अनुसार चालु र पुँजीगत गरी हालसम्म जम्मा १४ करोड १५ लाख ३५ हजार ७ सय २७ अर्थात् १८.४ प्रतिशत वित्तीय प्रगति हासिल भएको बताइएको छ ।
नगरपालिकाको १६ औँ नगरसभा बुधवार सम्पन्न भए पनि नगरपालिकाले बिहीबार पत्रकार सम्मेलन मार्फत नगरसभा सम्पन्न भएको जनाएको हो । नगरपालिकाका प्रवक्ता समीर कार्कीले पत्रकार सम्मेलनमा प्रेस विज्ञप्ति मार्फत खर्चको अवस्था,प्रतिबद्धता तथा पारित भएको विभिन्न विधेयकको बारेमा जानकारी गराए ।
प्रवक्ता कार्कीका अनुसार १६ औँ नगरसभाबाट नगरपालिकाका उपप्रमुखले नगर सभा समक्ष प्रस्तुत गरेको नगरपालिकाको विनियोजन ऐन, २०८१ लाई संशोधन गर्ने सम्बन्धमा बनेको विनियोजन विधेयक २०८१ सर्व सम्मतिबाट स्वीकृत गरिएको छ ।
नगरपालिकाबाट चालु आर्थिक वर्षको हालसम्म संचालन भएका समग्र विकास आयोजना तथा कार्यक्रमहरूको प्रगति विवरण विषयगत शाखाका संयोजकबाट सभा समक्ष प्रस्तुत भएर सभाबाट अनुमोदन भएको छ ।
साउनदेखि हालसम्म नगर कार्यपालिकाको बैठकले गरेका निर्णयहरू तथा नगर कार्यपालिकाको कार्यालयको दैनिक प्रशासनिक कार्य संचालन,योजना तथा कार्यक्रमको कार्यान्वयन एव विपद् व्यवस्थापनको क्रममा प्रचलित ऐन कानुनको परिधि भित्र रही नगर प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतबाट भए गरेका काम कारबाही तथा निर्णयहरू पनि अनुमोदन भएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
नगरपालिकाको न्यायिक समितिको चालु आ.व.२०८१ ÷०८२ को प्रथम अर्धवार्षिक प्रतिवेदन न्यायिक समितिको संयोजक एवं उप प्रमुखबाट सभा समक्ष प्रस्तुत भई सभाबाट अनुमोदन भएको छ ।
१६ औँ नगरसभाका प्रतिबद्धताहरू ः
नगर शिक्षा योजनाको मस्यौदा तयार भैसकेको हुनाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि नयाँ शैक्षिक सत्र सुरु हुन अघि विद्यालय पुन. संरचना र शिक्षकको दरबन्दी पुनरावलोकन गर्ने प्रतिबद्धता गरिएको छ ।
कार्यपालिका तथा व्यवस्थापिका अन्तर्गतका विषयगत समितिहरूको मासिक बैठकलाई नियमितता दिने प्रतिबद्धता गरिएको छ ।
बालमैत्री स्थानीय शासन र पोषणमैत्री स्थानीय शासनलाई प्राथमिकतामा राखी अघि बढ्ने साथै अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा,गृहिणी महिला सशक्तीकरण कार्यक्रम,बालश्रम मुक्त पालिका, दलित सशक्तीकरण कार्यक्रमलाई महत्वका साथ सञ्चालन गर्ने प्रतिबद्धता गरिएको छ ।
स्थानीय तह संस्थागत स्वमूल्याङ्कन र स्थानीय तह वित्तीय सुशासन जोखिम मुल्यांकनलाई दैनिक कार्यसम्पादनको सूचकको रूपमा राखी नियमित सेवा प्रवाह गर्ने प्रतिबद्धता गरिएको छ ।
रामेछाप नगरपालिकाको प्रमुख सडकको रूपमा रहेको सेलेघाट रामेछाप बजार साँघुटार सडक स्तरोन्नति कार्यलाई यथाशीघ्र सम्पन्न गर्न निमार्ण व्यवसायी र सम्बन्धित निकायमा पहल गर्ने निर्णय भएको छ ।
पत्रकार सम्मेलनमा नगरपालिकाका प्रमुख लबश्री न्यौपाने,उपप्रमुख बाल कुमारी कार्की,प्रमुख प्रशासकीय अधिकृत भोला प्रसाद चापागाईँ,नगर प्रवक्ता समीर कार्की लगायत रामेछापका क्रियाशील पत्रकारहरूको उपस्थिति रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button