पत्रकार महासंघ रामेछापले जारी ग¥यो १० बुँदे चिसापानी गढी घोषणापत्र

रामेछाप । नेपाल नेपाल पत्रकार महासंघ रामेछापले रामेछापको ऐतिहासिक चिसापानी गढीबाट १० बुँदे चिसापानी गढी घोषणापत्र जारी गरेको छ । अङ्ग्रेज सेना विरुद्धको लडाइँमा पृथ्वीनारायण शाहको सेनाले बनाएको हालको मन्थली नगरपालिका–८ को चिसापानी गढीबाटबाट पृथ्वी जयन्तीकै दिन शनिबार सो घोषणापत्र जारी भएको हो । मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठ, मन्थली नगरपालिका–८ का वडाध्यक्ष एवं मन्थली नगरपालिका प्रवक्ता गोपाल श्रेष्ठ, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य नवराज पथिक लगायतको उपस्थितिमा भएको पत्रकारहरूको वनभोज तथा भेलाले सो घोषणापत्र जारी गरेको महासंघका जिल्ला अध्यक्ष दीपक घिमिरेले जानकारी दिए ।
महासंघका जिल्ला अध्यक्ष घिमिरेको अध्यक्षतामा भएको जिल्लाका पत्रकारहरूको भेलाले नेपालको प्रजातान्त्रिक र लोकतान्त्रिक आन्दोलनमा नेपाली पत्रकारिता क्षेत्रले निर्वाह गरेको भूमिका तथा सामाजिक परिवर्तन, सूचनाको हक, नागरिक अधिकार र सामाजिक जागरणको क्षेत्रमा गरेको योगदानलाई अक्षुण्ण राखी जिल्लाको विकास, समृद्धि तथा आवाजविहीन नागरिकहरूको आवाज उठाउने अग्रणी संस्थाको रूपमा नेपाल पत्रकार महासंघ रामेछाप रहेको जनाएको छ ।
भेलाले रामेछाप जिल्लाको पत्रकारिता क्षेत्रको विकास, पत्रकारहरूको पेसागत व्यावसायिक हितको रक्षा गर्दै नागरिकको सूचनाको अधिकार स्थापित गराई नागरिकलाई सेवा प्रदान गर्ने निकायलाई जिम्मेवार बनाउन यो भेला राज्यको चौथो अङ्गको रूपमा रहेको पत्रकारिता क्षेत्रबाट प्रभाकारी भूमिका निर्वाह गर्ने गराउने घोषणा गरेको छ ।
भेलाले नेपालको संविधानले प्रदान गरेको नागरिकको सूचनाको अधिकार संरक्षण र प्रवर्धन गर्न कुनै प्रभाव र दबाबमा नपरी आवाजविहीनका आवाज उठाउन तथा सेवा प्रदायकलाई निरन्तर खबरदारी गन जिल्लाका क्रियाशील पत्रकारहरू थप क्रियाशील हुने प्रतिबद्धता जाहेर गरेको छ । समग्र रामेछाप जिल्लाको विकास तथा नागरिकलाई प्रदान गर्ने सेवा प्रभाकारी बनाउन सरोकारवाला निकायसँग मिलेर काम गर्न रामेछापका क्रियाशील पत्रकार सधैँ तयार रहेको घोषणा भेलाले गरेको छ । नागरिकलाई प्रवाह गर्ने सेवालाई थप प्रभाकारी, पारदर्शी, सहज र सरल बनाउन जिल्लाका सेवा प्रदायकलाई भेलाले ध्यानाकर्षण गराएको छ । जिल्लामा विकास निर्माणको लागि आएका कतिपय बजेटहरू सही ठाउँमा प्रयोग हुन नसकेको, विकास बजेटमा डुब्लिकेसन हुने गरेको, विकास निर्माणका काममा अनियमितता हुने गरेको, निर्माण व्यवसायी मार्फत सञ्चालन भएका योजनाहरू निर्धारित समयमा सम्पन्न नभएका कारण नागरिकले सास्ती भोगेको, उपभोक्ता समिति मार्फत सञ्चालित कतिपय योजनहरूमा उपभोक्ता समितिले ठेक्कामा लगाएर बिचमा कमिसन खाने गरेको, उपभोक्ता समितिको नाममा बिचौलियाहरूको हालीमुहाली भएको प्रति सरोकारवालाको ध्यानाकर्षण गराउँदै भेलाले तत् तत् क्षेत्रका निकायहरूलाई जिम्मेवार हुन आह्वान गरेको छ ।
जिल्लाका सेवा प्रदायक निकायहरूले नियमित रूपमा अनिवार्य सार्वजनिक गर्नुपर्ने सूचनाहरू समेत सार्वजनिक नगरेको, नागरिकको सूचनामा सहज पहुँच नभएको, नागरिकको सूचनाको अधिकार सङ्कुचित हुँदै गएको, कतिपय सार्वजनिक निकायहरूको काम अपारदर्शी हुने गरेको प्रति भेलाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नागरिकको सूचनाको हकको सम्मान गर्दै नियमित सूचना सार्वजनिकीकरण गर्न तथा सूचनामा नागरिकको सहज पहुँच स्थापना गर्न भेला सरोकारवालाको ध्यानाकर्षण गराएको छ ।
सेवा प्रदायक निकायले सञ्चारमाध्यम मार्फत सार्वजनिक गर्नुपर्ने सूचना तथा कार्यक्रममा समेत आफूखुसी गरेको, जिल्लाका सञ्चारमाध्यमसँग सहकार्य गर्ने कुरामा ध्यान नदिएको, पत्रकार र पत्रकारिताको हितको विषयलाई बेवास्ता गरी अघि बढिरहेको विषयको आलोचना गर्दै भेलाले राज्यको चौथो अङ्गको रूपमा रहेको पत्रकारिता क्षेत्रलाई बेवास्ता नगर्न सरोकारवालाको ध्यानाकर्षण गराएको छ ।
चिसापानी गढी, तिल्केस्थान गढी, पकरबास गढी लगायतका रामेछापका ऐतिहासिक गढीहरू, जिल्लाका विभिन्न धार्मिक तीर्थस्थलहरू, पर्यटकीय गन्तव्यका स्थलहरूको प्रचार गरी पर्यटन प्रवर्धन गराउनको लागि पत्रकारिता क्षेत्रबाट गर्नुपर्ने सबै योगदान गर्ने प्रतिबद्धता भेलाले व्यक्त गरेको छ । ती स्थानहरूको संरक्षण र प्रचारप्रसारको काममा आवश्यक बजेट विनियोजन गरी तत्काल काम अघि बढाउन भेलाले स्थानीय, प्रदेश र संघीय तीनवटै तहका सरकारको ध्यानाकर्षण गराएको छ ।
राज्यको चौथो अङ्गको रूपमा रहेको पत्रकारिता क्षेत्रको सम्मान गर्दै त्यसको विकासमा सहयोग र सहकार्य गर्ने सबै निकाय प्रति भेलाले सम्मान र आभार प्रकट गर्दै द्विपक्षीय सहयोग र सहकार्यलाई थप उचाइमा पु¥याउने घोषणा गरेको छ ।
मन्थली नगरपालिकाको पहिचानको रूपमा रहेको चिसापानीको नेवारी संस्कृति, ऐतिहासिक चिसापानी गढी, भीमशेनस्थान लगायतका पर्यटकीय स्थलको विकास तथा प्रचारको लागि भेलाले सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।
भेलाले तयार गरेको घोषणापत्र कार्यक्रम स्थलमा नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष दीपक घिमिरेले मन्थली नगरपालिकाका प्रवक्ता गोपाल श्रेष्ठलाई हस्तान्तर गरे । घोषणापत्र बुझ्दै प्रवक्ता श्रेष्ठले त्यसलाई कार्यान्वयन गराउन आफ्नो र मन्थली नगरपालिको तर्फबाट सबै खालको सहयोग र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।
यस अघि वडा कार्यालयमा आयोजित कार्यक्रममा मन्थली नगरपालिका ८ नं वडा कार्यालयले रामेछापको भूगोलबाट नवनिर्वाचित नेपाल पत्रकार महासंघका केन्द्र तथा प्रदेश सदस्य, जिल्ला अध्यक्ष लगायत पदाधिकारी, सदस्य, केन्द्र तथा प्रदेश परिषद् सदस्य लगायतलाई बधाई तथा कार्यसफलताको शुभकामना सहित सम्मान गरेको थियो । वडाध्यक्ष गोपाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठले नेपाल पत्रकार महसंघ रामेछापको नवनिर्वाचित टिमलाई बधाई सहितको प्रमाणपत्र हस्तान्तरण गरे ।



